काठमाडौँ । सधैँ रङमा कुची चोप्दै क्यान्भासमा विभिन्न आकृति पोतिरहने अग्रज कलाकार शशीविक्रम शाह आज प्रश्नको घेरामा बाँधिए ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकोे आयोजनामा भएको ललितकला सम्वादमा आज आइतवार अग्रज कलाकार शशीविक्रम शाहसँग कलाका विभिन्न विषयमा छलफल भएको छ ।
कलाकार शाहले कार्यक्रममा आफ्नो कला यात्रासँगै यससँग जोडिएका विभिन्न रोचक किस्सालाई प्रस्तुत गर्नुभएको थियो ।
विगत लोमा समयदेखि घोडालाई नै मुख्य पात्र बनाएर उहाँ कला सिर्जनामा पोख्त हुनुहुन्छ । घोडा चित्र र शशीविक्रम शाह एकअर्काका पर्याय हुन् भन्दा फरक पर्दैन । घोडाहरुलाई समय र समाजससँग जोड्दै उहाँ प्रस्तुत गर्नुहुन्छ ।
उहाँले बेलायतको टेट म्युजियममा आफ्ना कलाकृति पहिलो पटक प्रदर्शनी रहेको प्रसङ्गको चर्चा गर्दै यो नेपाली कलाकारका लागि गौरवको क्षण भएको प्रतिक्रिया दिनुभयो ।
८५ वर्षीय कलाकार शाहले उक्त अवसरमा आफ्नो भारत, जापानलगायतका देशमा पुग्दाका तथा अध्यापन गर्दाको प्रसङ्गको समेत विस्तारमा चर्चा गर्नुभएको थियो ।
इस्ता कार्यक्रमले अग्रज कलाकारका अनुभवहरु नयाँ पुस्तामा हस्तान्तरण हुने बताउँदै उहाँले भन्नुभयो, ‘यो कार्यक्रम गरेकोमा म प्रज्ञा प्रतिष्ठानलाई धन्यवाद दिन्छु ।’
कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलाको पुस्तान्तरणका लागि यस्ता कार्यक्रमहरूले कलाकारहरूलाई प्रोत्साहन मिल्ने बताउनुभयो । उहाँले कलाकार शाहको सम्मानस्वरूप यस कार्यक्रम गरिएको बताउनुभयो ।
प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख संजय बान्तवा राईले अग्रज कलाकार शाहलाई अगाडि राखेर कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
उहाँले अग्रज कलाकारहरूको सम्मानमा ललितकला प्रतिष्ठानले काम गरिरहेको धारणा राख्नुभयो ।
त्यस्तै, कलाकार शशीविक्रम शाहका बारेमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य सचिव विपिन घिमिरे, सिद्धार्थ आर्ट ग्यालरीका अध्यक्ष सङ्गीता थापा, अग्रज कलाकार कृष्ण मानन्धर, वैकुण्ठ श्रेष्ठलगायतले आफ्ना धारणा, स्मृति साझा गर्नुभएको थियो ।
प्रतिष्ठानले पछिल्लो समयमा कलाकाहरुलाई ल्याएर यसरी नै सम्वाद गराृँद्रै आएको छ ।