काठमाडौँ : समालोचक प्राडा गोपीन्द्र पौडेलको नियात्रासंग्रह ‘यात्राको धुन’को आज काठमाडौँमा लोकार्पणसँगै पाठकमैत्री भेटघाटमा समीक्षा गरिएको छ ।
भुँडीपुराणले प्रकाशन गरेको उक्त नियात्रासङ्ग्रहको वरिष्ठ आख्यानकार तथा नियात्रा लेखक हरिहर खनालले लोकार्पण कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
प्रगतिशील लेखक संघ नेपालको आयोजनामा भएको उक्त समारोहमा समालोचक विष्णु ज्ञवालीले अमेरिका, भारत र युरोपका विभिन्न १० देशमा घुमेर लेखक पौडेलले लेख्नुभएको नियात्रासङ्ग्रह ‘यात्राको धुन’ले आफू विदेश नगए पनि विदेश भ्रमण गराएको भन्दै लेखकलाई धन्यवाद दिनुभयो ।
उहाँले भन्नुभयो, “समालोचक पौडेल नियात्राकार बनेर आउनुभएको छ, यो कृतिमा मैले विविधता देखेँ, विदेश भ्रमणका विषय उल्लेख गर्नुभएको छ, बेलाबेलामा उहाँले यात्रामा नेपालको प्यूठान लानुहुन्छ, त्यहाँको भीर, पाखा, पखेराको अनुभूति दिलाउनुहुन्छ, जसले उहाँको यो लेखनमा विविध रङ भरिएको महशुस गरेको छु ।”
अर्का समीक्षक नन्दु उप्रेतीले लेखकले पुस्तकमा स्मृति पीडा, स्मृति खुशी, स्मृति चञ्चलता र स्मृतिबाट पाउने आनन्द सबै कुराहरु पाएको आफूले महसुस गरेको बताउनुभयो ।
उहाँले कतिपय अवस्थामा अब्राहम लिङ्कनको सन्दर्भ ल्याउँदा पुस्तकमा उनका भनाइहरु राखेको भए.., भन्ने महसुस गराएको बताउँदै नेपाल र विदेशको विकास र सडकको तुलना गर्नुभन्दा नेपाल पनि यस्तै भएपछिको अनुभूति राखिदिएको भए पुस्तक अझ शसक्त हुने विचार राख्नुभयो ।

उहाँले उक्त कृतिमा लेखक पौडेलले पुस्तक पढ्दा लेखकले उखानलाई मज्जाले जोड दिएको पाएको बताउँदै उल्लेख गरिएका सन्दर्भले गाउँ गएको, साथीभाई परिवारसँग कुरा गरेको जस्तो अनुभूति दिलाएको सुनाउनुभयो ।
नियात्राकार जय छाङ्छा राईले मूर्तमात्रै नभई अमूर्त चिजको पनि यात्रा हुने सन्दर्भ जोड्दै नियात्राको ढुकुटीमा एउटा राम्रो कृति थपिएकोमा खुशी व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “नियात्रालाई कल्पनाशिलताले दह्ररो बनाउँछ, विदेशका ठाउँठाउँमा बनेका सुरुङमार्गलाई नेपालका खेतबारीमा कुद्ने मुसाको दुलोसँग कल्पना गर्दै जोडेर उहाँले सुन्दर रुपमा प्रस्तुत गर्नुभएको छ, ठाउँठाउँमा कल्पना पनि भर्नुभएको छ, यो राम्रो पक्ष हो ।” उहाँले इतिहासमा धेरै कुरा लुकाइने र एकपक्षीय हुने सन्दर्भ जोड्दै नियात्रामा जस्तो हो त्यस्तै रहने पनि बताउनुभयो ।
कार्यक्रममा भाषा आयोगका सदस्य गोपाल अश्कले ‘यात्राको धुन’मा पनि उहाँले आफ्नो पुँजीवादलाई हेर्ने दृष्टिकोण स्पष्ट उल्लेख गर्नुभएको बताउनुभयो ।
अमेरिकालाई सपनाको शहर भन्ने सुनिँदै आएकोमा लेखकले विपनाको शहरका रुपमा परिभाषित गर्दै ह्वाइट हाउसलाई मात्र एउटा सेतो दरबारका रुपमा चित्रण गर्नुभएको उहाँले सुनाउनुभयो ।
लेखक पौडेलका काव्यात्मक प्रस्तुति पनि सुन्दर रहेको बताउँदै सदस्य अश्कले केही कमिकमजोरी सुधारेर अर्काे नयाँ संस्करण आउने आशा व्यक्त गर्नुभयो ।
“विकसित देशको भ्रमणका विषयमा लेखिएको नियात्रासङ्ग्रहमा नेपाल त्यसमाथि प्युठानको माटोलाई जोड्नुभएको छ, जसले उहाँमा अगाध राष्ट्रप्रेम झल्किएको छ”, सदस्य अश्कले भन्नुभयो ।
त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका प्रमुख प्राडा कृष्णप्रसाद न्यौपानेले नेपाली साहित्यको भण्डारमा नियात्राको नयाँ कृति थपेकोमा लेखक गोपीन्द्र पौडेललाई धन्यवाद दिनुभयो ।
नेपाल प्रज्ञप्रतिष्ठानका सदस्यसचिव धनप्रसाद सुवेदीले लेखक पौडेल सुरुवाती चरणमा उहाँले सुरु गर्नुभएको निबन्ध र सिर्जनामा फर्किनुभएको आफूले पाएको बताउनुभयो ।
अहिले नेपालमा उस्तैउस्तै प्रकृतिका सिर्जना आउने गरेको सन्दर्भ जोड्दै उहाँले नेपाली मौलिकता झल्किने गरी पुस्तक आउन जरुरी रहेको बताउनुभयो ।
प्रगतिवादी साहित्यकार एवं संस्कृति चिन्तक ईश्वरचन्द्र ज्ञवालीले समालोचक पौडेलका कृति, समालोचना, सिर्जना हेर्दा धेरै गहिरो अध्ययन भएका श्रष्टा आफूले पाएको स्मरण गर्दै यस नियात्रासङ्ग्रहमा समालोचकीय, निबन्धात्मक र यात्रा एवं सिर्जनात्मक प्रवृत्ति समागम भएको बताउनुभयो ।
सातवटा समालोचना प्रकाशन गरिसक्नुभएका लेखक गोपीन्द्र पौडेल पाठ्यक्रम विकास केन्द्रलगायत विभिन्न सरकारी निकायको नेतृत्वमा पुगेर अनुभव सम्हालिसक्नुभएको छ । उहाँले विसं २०५६ सालमा कामरेडमा नाउँ दरिएन (ब्याङ्ग्य निबन्ध)बाट लेखनयात्रा सुरु गर्नुभएको थियो ।
समारोहमा लेखक पौडेलले उठेका जिज्ञासा मेटाउँदै भन्नुभयो, “सर्जक पाठकका अनुभूतिसँग खेल्न सक्नुपर्छ, आफूले यस कृतिमा त्यही प्रयास गरेको छु, भएका कमजोरी स्वीकार्छु र सुधार गर्दै लैजान्छु ।”
उहाँले समालोचना छाडेर नियात्रातिर लाग्नुभएको त होइन भन्ने लेखक साहित्यकारबाट आएको आशंका मेट्दै यो विभिन्न देश भ्रमण गर्दाको नियात्रासङग्रह भएको तर आफू समालोचना लेखनबाट नथाकेको बरु कृति ल्याउने तयारी गरिरहेको जानकारी दिनुभयो ।
उहाँले व्याङ्ग्य निबन्धमार्फत २०५६ सालबाट लेखनमा प्रवेश गरेको जानकारी गराउँदै सातवटा समालोचना लेखेर यो नियात्रासङ्ग्रह ल्याएको जानकारी गराउनुभयो ।
उहाँले यो आफ्नो पहिलेदेखिकै रहरको खेतीका रुपमा ‘यात्राको धुन’ आएको बताउनुभयो । उहाँले थप्नुभयो, “यहाँ नियात्राको गुण नहुन सक्छ, तर कतिपय समावेश हुनुपर्ने विषय छुटेका हुन सक्छन्, अब सचेत छु ।”
उहाँले नियात्राभित्र यथार्थ र कल्पना हुने सुनाउँदै कोरा कल्पना नभएर यथार्थपरक कल्पनाको व्याङ्ग्य यसभित्र रहेको जिकिर गर्नुभयो । उहाँले यो कृतिमा नियात्राका लागि चाहिने गुणहरु समाज, संस्कृति, जनजीवनका पक्ष र पाटाहरु आंशिकरुपमा यहाँ रहेको बताउनुभयो ।
लेखक पौडेलले विदेशमा घुमिरहँदा वा न्युयोर्कको टाइम्स स्क्वायरमा घुमिरहँदा देखिएको नग्न संस्कृतिलगायत सबै चिजप्रति आफू संवेदनशील भएको पनि बताउनुभयो ।
नेपाल र विदेशको तुलनाका सन्दर्भमा उठेको जिज्ञासामा उहाँले आफूले नकारात्मक रुपमा नभई त्यहाँको विकासको दाँजोमा हामी पुग्न सकेनौँ मात्रै भन्न खोजेको बताउनुभयो । उहाँले आफ्नो माटोलाई उपेक्षा नगरिएको पनिदावी गर्नुभएको छ ।
आफ्नो धरातल र विचारबाट सकेसम्म आफू नचुकेको तथा वस्तु सौन्दर्य र त्यसको उपयोगितालाई सकभर छिचोल्ने प्रयास गरिएको उहाँले बताउनुभयो ।
समारोहमा प्रगतिशील लेखक संघ नेपालका अध्यक्ष डामधुसुदन गिरीले लेखक पौडेललाई नयाँ कृति ल्याउनुभएकोमा बधाई दिँदै अझै धेरै पुस्तक पढ्ने इच्छा रहेको बताउनुभयो । उहाँले पुस्तक जथाभावी निस्कने क्रमलाई रोक्नका लागि पनि राम्रो समालोचना जरुरी रहेको र स्वच्छ आलोचना हुनुपर्नेमा जोड दिनुभयो ।
वरिष्ठ आख्यानकार एवं नियात्रा लेखक हरिहर खनालले लेखक पौडेलाई नयाँ कृति ल्याएकोमा बधाई दिँदै आफूले पनि केही कृतिहरु बजारमा ल्याउन लागेको जानकारी गराउनुभयो ।
समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यय, प्रगतिशील लेखक संघका उपमहासचिव बालमुकुन्द कार्की, उपप्रा तेजविलास अधिकारीलगायतले लेखक पौडेलको व्यक्तित्व र कृतिका बारेमा चर्चा गर्नुभएको थियो ।
भीडियो :

समालोचक, नियात्रा लेखक गोपीन्द्र पौडेल…
आज काठमाडौँमा उहाँको नियात्रासंग्रह ‘यात्राको धुन’ लोेकार्पण तथा पाठकमैत्री भेटघाटमा श्रष्टाहरुबाट उठेका जिज्ञासा उहाँले यसरी मेटाउनुभयो । एउटा सन्दर्भमा भन्नुभयो, ‘न्युयोर्कको टाइम्स स्क्वायरमा घुमिरहँदा देखिएको नग्न संस्कृतिलगायत सबै चिजप्रति आफू संवेदनशील छु।
https://www.facebook.com/samriddhisanchar/videos/430909693233020