काठमाडौँ : ‘आर्टबिट’द्वारा ‘रङ्गीन सपना’ शीर्षकमा आजदेखि काठमाडौँस्थित नेपाल कला परिषद्मा कला प्रदर्शनी सुरु भएको छ ।
नवकलाकार तथा बालबालिकाहरुको कला प्रदर्शनी उद्घाटन गर्दै उपसभामुख इन्दिरा रानाले बालबालिकाहरुले प्रस्तुत गरेको कला सिर्जनाले पनि प्रदूषण रोक्न आह्वान गरिरहेको बताउनुभयो ।
उपसभामुख रानाले नेपालमा वायु प्रदूषण बढिरहेको भन्दै यसतर्फ सबै गम्भिर हुनुपर्नेमा जोड दिनुभएको छ ।
यहाँ संस्कृतिलाई झल्काउने पोशाक, प्रकृति र वातावरणलाई कलामा प्रस्तुत गरिएको देख्दा खुसी लागेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सेतो हिमाल र निलो आकास देख्न सक्ने अवस्था नभइरहेका बेला कलामा निलो आकास, सेतो हिमाल देखाइएको छ। देशका पहाडहरु काला देख्न थालिएको छ, यो कलामा देखिएको सिर्जनशिलता नेपाललाई झल्काउने खालको छ, उहाँहरुले यस्तै प्रस्तुत गर्नुभएको छ ।”
नेपालमा प्रदूषण बढ्दो रहेको उल्लेख गर्दै उहाँले हामीमा अनुशासन नभएको पनि बताउनुभयो उपसभामुख रानाले नयाँ पुस्तालाई प्रदूषणमुक्त वातावरण दिनुपर्ने र त्यसका लागि हामी सबै लाग्नुपर्नेमा जोड दिनुभयो । तब मात्रै प्रकृतिको संरक्षण हुने र यी बालबालिकाहरु असल व्यक्ति बन्न सक्ने उहाँले बताउनुभयो ।
समारोहमा बागमती प्रदेशका पूर्वसंस्कृतिमन्त्री शैलेन्द्र बज्राचार्यले कला सिर्जनाले मुलुक संस्कृति संरक्षणको महत्वपूर्णमाध्याम भएको उल्लेख गर्दै यसको प्रवद्र्धन जरुरी रहेको औँल्याउनुभयो । उहाँले बालबालिकाहरुको कलाकृति आकर्षक र प्रकृतिप्रेम रहेको भन्दै प्रशंसा पनि गर्नुभयो ।
छ वर्षदेखि १४ वर्षका बालबालिका र कलाकृति अध्ययन गर्ने नवोदित युवा कलाकारहरूको जीवन्त रङ्गीन कल्पना समावेश गरी आयोजना गरिएको कला प्रदर्शनी उद्घाटनका क्रममा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलिलै उमेरदेखि बालबालिकालाई असल अभ्यास दिन सके भविश्य सुन्दर हुने र देश प्रेमप्रतिको भावना जागृत हुने बताउनुभयो ।
उहाँले बालबालिकाको कलाकृतिले सुन्दर नेपाल र प्रकृतिको बयान गरेको स्मरण गर्दै उनीहरुका लागि अवसर दिनुपर्नेमा जोड दिनुभयो ।
यहाँ बालबालिका, नवोदित युवा कलाकार र दृष्टिविहीन एंव एचआइभी संक्रमित भएकाहरुको कला समावेश गरिएको छ । उक्त प्रदर्शनीका कला व्यवस्थापक दिवेश प्रधानले भन्नुभयो, “यस प्रदर्शनीमार्फत, हामीले बालबालिकाका आफ्ना सपना र कल्पनालाई रङका रचनामार्फत आफ्नो भित्री संसारलाई अभिव्यक्त गर्ने प्रयास गरिएको छौँ ।”
युवा कलाकारहरुसँग सहकार्य गरी न्युन आर्थिकस्थिति भएका सरकारी विद्यालयका बालबालिकाका साथै घर र समुदायका बालबालिकाहरूलाई कला सिक्न उत्प्रेरित गर्ने प्रदर्शनीको लक्ष्य रहेको आयोजकले जनाएको छ ।
यो प्रदर्शनी बालबालिकालाई कलामार्फत आफ्नो सृजनात्मकता अभिव्यक्त गर्ने मञ्च भएको र परिवारमा र समुदायमा बालबालिकाको कलात्मक अभिव्यक्ति गर्न तथा कलात्मक सीप र आत्मविश्वास प्रवद्र्धन हुने विश्वस गरिएको छ ।
आयोजक प्रतिनिधि जुजुकाजी महर्जनले “रङ्गीन सपना शीर्षकमार्फत बालबालिकाहरूलाई उनीहरूका सपनाहरू अन्वेषण गर्न र चित्रण गर्न आमन्त्रित गर्ने बताउनुभयो । विशेष गरी आकर्षक र रमाईलो तरिकामा साहसिक र अति यथार्थवादका गुणहरू भएको विचित्र भाव, रंगीन परिदृश्यहरू, सपना वा तिनीहरूको कल्पनाको अमूर्त प्रतिनिधित्व, बालबालिकाका विचार, भावना कलाका रूपमा प्रस्तुत गरिएको छ ।
प्रदर्शनीमा विभिन्न क्षेत्रका २० जना विद्यार्थीहरु, मीन माध्यामिक विद्यालय तनहुँबाट कला कार्यशालामा सहभागी २३ जना विद्यार्थीहरु, यङ पिकासोका ३ बालबालिकाहरू र १३ जना युवा कलाकारहरू सहभागी छन् । जसमा दृष्टिविहीन एवं एचआइभी संक्रमित भएका बालबालिका पनि रहेका छन्।
प्रदर्शनीमा शनिवारीय कला कार्यशाला अभियान, लायन्स क्लब अफ काठमाडौँ, गार्च फल्क स्वेले ब्ल्याङ्कनेश र यङ पिकासोलगायत संस्थाहरूले सहयोग गरेका छन् ।