काठमाडौँ : सीमान्तकृत समुदायको जिवनस्तर सुधारमा विशेष ध्यान दिनुपर्ने आज काठमाडौँमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताउनुभएको छ ।
‘ग्रामीणस्तरमा कार्यरत नागरिक समाज, संघ संस्थाको सवलिकरणमार्फत सीमान्तकृत समुदायको जिविकोपार्जन’ विषयक आज काठमाडौँमा आयोजित राष्ट्रिय सम्मेलनका सहभागीहरुले सिमान्तकृत समुदायका रैथाने संस्कृति तथा उत्पादनहरु हराउँदै गएकाले यसतर्फ तीनै तहका सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभएको थियो ।
राष्ट्रिय जनवकालत मञ्च (नाफान)को आयोजनामा यहाँ भएको सम्मेलनमा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सूर्यप्रसाद ढुंगेलले उनीहरुको जिवनस्तर उकास्न ती समुदायले उत्पादन गरेका वस्तुहरुको बजारिकरणमा सरकारले ग्यारेन्टी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले राज्यले भूमिका बढाउनुपर्नेमा जोड दिँदै उहाँले ती समुदायको हक अधिकार सुनिश्चित गर्न आयोगका साथ र सहयोग रहने पनि बताउनुभयो ।
सम्मेलनमा चेपाङ, राउटेलगायत देशका विभिन्न जिल्लाका सिमान्तकृत समुदायका प्रतिनिधि विभिन्न पालिकाका जनप्रतिनिधि, सांसद तथा विभिन्न संसथका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सम्मेलनमा सुदुरपश्चिम प्रदेशसभा सदस्य तुलसी देवकोटाले अझै पनि सिमान्तकृत समुदायका लागि प्रभावकारी काम हुन नसकेको बताउँदै आफूले सक्दो पहल गरिरहेको बताउनुभयो ।
मकवानपुरको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले चेपाङ राउले लगायतका समुदायलाई आमनिर्भर बनाउन जरुरी रहेको उल्लेख गर्दै आफूले पालिकामा अर्गानिक चिज वस्तुहरु फर्काउन प्रयास गरिरहेको बताउनुभयो ।
सम्मेलनमा बझाङको मष्टा गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहराले आधुनिकतासँगै रैथाने कामलाई एकीकृत गरेर अघि बढुन जरुरी रहेको बताउनुभयो । उहाँले समुदायको सहभागीतामा उत्पादन वृद्धि गर्दै उत्पादनको बजारीकरण जरुरी रहेको बताउनुभयो ।
बागमती प्रदेशका पूर्वमन्त्री सन्तबहादुर चेपाङले सीमान्तकृत समुदायबाट रेथाने बाली उत्पादन गरेर मात्रै नहुने त्यसको बजारिकरणको जिम्मा सरकारले लिनुपर्नेमा जोड दिनुभयो ।
सम्मेलनमा गैरसरकारी संस्था महासंघका महासचिव अर्जुन भट्टराईले रैथाने उत्पादनलाई डिजिटल प्रणालीमा समेत आवद्ध गर्नसके थप प्रभावकारी हुने उल्लेख गर्नुभयो ।