काठमाडौँ : दलहरुबीच गहिरिँदै गएको विश्वासको संकटले शान्ति प्रक्रियालाई पूर्णता दिने विषयमा समस्या उत्पन्न हुनसम्ने औँल्याइएको छ ।
त्रिभुवन विश्वविद्यालयको द्वन्द्व, शान्ति र विकास अध्ययन विभागले आज काठमाडौँमा आयोजना गरेको शान्ति प्रक्रिया : विगत र वर्तमान विषयक अन्तरक्रियामा राजनीतिक नेता तथा सहभागीहरुले मुख्य गरी शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दलहरुबीच विश्वास कायम गर्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन जरुरी रहेको बताउनुभएको छ ।
बैठकमा बोल्दै नेपाली कांग्रेसका नेता तत्कालीन सरकारको वार्ता टोलीका संयोजक कृष्ण सिटौलाले १८ वर्ष पुगिसक्दा पनि शान्ति पूक्रिया टुंगोमा नपुग्नु दुखद कुरा भएको बताउनुभयो । उहाँले अहिले झन् प्रमुख दलहरुबीच विश्वासको संकट गहिरिँदै गएको उल्लेख गर्दै यसले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन अवरोध खडा गर्नेतर्फ दलहरुको ध्यानाकर्षण गराउनुभयो ।
हरेक क्षेत्रका समस्याहरु राजनीतिक सहमतिका आधारमै अघि बढाइएको दृष्टान्त प्रस्तुत गर्दै उनले पछिल्लो समयमा शान्ति प्रक्रियामा काम अघि बढाउन पनि राजनीतिक सहमतिले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “तत्कालिन १२ बुँदे सम्झौताका हस्ताक्षरकर्ता सातदलमा सहभागी नेपाली कांग्रेस र नेकपा एमालो तथा तत्कालीन द्वन्द्वरत पक्ष नेकपा माओवादी केन्द्रबीच अझै विश्वासको वातावरण हुन जरुरी छ ।”
कार्यक्रममा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउनका लागि काम अघि बढाइएको र आउँदो ४ वर्षमा पुरा हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले विस्तृत शान्ति सम्झौताको स्पिरिट अनुसार मुख्यगरी पीडितसँग मेलमिलाप गर्ने कुरालाई नै प्राथमिकता दिइएको जानकारी गराउँदै गम्भिर प्रकृतिका घटनामा भने मिलान नहुने प्रष्ट पार्नुभयो ।
उहाँले दोहोरो भीडन्तबाहेक बलपूर्वक हत्या अपहरण बेपत्ता बनाएका तथा बलात्कारजस्ता घटनामा मिलाप नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “यौन, बलात्कार र दुव्र्यवहार, चरम यातनामा उन्मुक्ति हुँदैन । बलपूर्वक बेपत्ता पारिएका कुरामा पनि उन्मुक्ति हुँदैन, यी चार वटा क्याटोगोरी राखेका छौँ । यिनीहरुले अन्तरराष्ट्रिय प्रतिवद्धता र कानूनसँग पनि सम्बन्ध राख्छ ।”
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले पछिल्लो समयमा राजनीतिक नेतृत्वमा एकले अर्कालाई छक्याउने, झुक्याउने, छल गर्ने गतिविधि विकास भएको र यो राजनीतिमा निक्कै हानिकारक रहेको जिकिर गर्नुभयो । यस्ता गतिविधिले नागरिकमा वितृष्णा पैदा हुँदै गएको पनि उहाँले उल्लेख गर्नुभयो ।
उहाँले शासनमा भन्दा राशनमा बढी ध्यान दिने खालको नीतिले फेरि द्वन्द बढ्नसक्ने बताउनुभयो । उहाँले शान्ति प्रक्रियालाई छिटो निकास दिनुपर्नेमा जोड दिनुभएको छ ।