काठमाडौँ : इस्लामिक कलाको अन्तरराष्ट्रिय दिवसका अवसरमा काठमाडौँस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा इस्लामिक कला प्रदर्शनी तथा सम्मेलन सुरु भएको छ ।
सोमवार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको कला प्रदर्शनी भोलि बुधबारसम्म चल्ने छ । यही १८ नोभेम्बरमा पर्ने इस्लामिक कलाको अन्तरराष्ट्रिय दिवसका अवसरमा सुरु भएको प्रदर्शनी तथा सम्मेलनमा आज उपराष्ट्रपति राम सहायप्रसाद यादवले अवलोकन भ्रमण गर्नुभएको थियो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीका अनुसार वास्तुकलासँग जोडिएको कलाकृतिहरु इस्लामिक कला प्रदर्शनीमा राखिएको जानकारी दिनुभयो ।
ईसं २०१९ मा युनेस्को सम्मेनको ४०औँ सत्रमा इस्लामिक कलाको अन्तरराष्ट्रिय दिवस मनाउने घोषणा भएपछि विश्वभरी हरेक वर्ष नोभेम्बर १८ मा यो दिवस मनाउने गरिन्छ ।
यसले इस्लामको अतित र समकालीन कलात्मक अभिव्यक्ति र सभ्यतालाई कलाका माध्यामबाट संस्कृतिमा जागरुकता बढाउने उद्देश्य रहेको आयोजक द मदर फाउण्डेसनले जनाएको छ ।
यहाँ जारी इस्लामिक कला प्रदर्शनीमा दृष्यकला, वास्तुकला, सुलेखन कला, चित्रकला, माटो कला तथा पाककला समावेश गरिएको छ । कार्यक्रममा जानकारी गराइएअनुसार यो कला भौतिक गुणहरुमामात्रै सीमित नरही वस्तु र प्राणीहरुको आध्यात्मिक प्रतिनिधित्वमा कन्द्रित रहेको छ ।
इस्लामिक कला सजावटी मात्रै नभई गहिरो शैक्षिक, जटिल डिजाइन र ढाँचाहरु हुन्छन्, जुन गणितीय र वैैज्ञानिक ज्ञानलाई प्रतिबिम्बित गर्ने बताइएको छ ।
इस्लामिक कलाका प्रमुख घटकहरुमा दृष्यकला (वास्तुकला, सेरामिस, रेखाचित्र, फिल्म निर्माण, चित्रकला, फोटोग्राफी, मूर्तिकलासहित), साहित्य कला (नृत्य, संगित, र थिएटरसहितका कलासहित) र पाक कलामा (खाद्य वस्तुहरु पकाउने कलासहित) रहेका जनाइएको छ ।