सौराहा । सौराहाका पुराना पर्यटन व्यवसायी (पर्यटनको जग बसाल्नेमध्येका एक) ६८ वर्षका गिरिधारी चौधरीलाई चार महिनाअघि फेसबुक म्यासेन्जरमा भ्वाइस कल आयो । उताबाट एक महिलाले सोधिन, “आर यु गिरि ?” एकदम नजिकका मानिसले चौधरीलाई यसरी नै गिरि…भनेर मायाले बोलाउँछन् । गिरिधारीले जवाफ दिए, “यस आइ एम गिरि ।” ति महिलाले भनिन्, “आइ एम कोनी, आई वान्ट टु मिट यु, सो आइएम कमिङ टु नेपाल सुन…।”
गिरि झसङ्ग भए । उनका पैँतिस वर्ष पुराना यादहरु एकाएक उपन्यासका पाना जस्तै पल्टन थाले । कहाँ युरोप । कहाँ नेपाल । सात समुद्र पारीको युरोपियन देश स्विटजरल्याण्डकी कोनी उनको पूर्व प्रेमिका थिइन् । बिछोडिएको पैँतिस वर्षपछिको अवस्था र जवानी उस्तै थिएन । उ बेला गिरिधारी एक पर्यटक गाइड थिए । लक्का जवान । कोनी नेपाल घुम्न आएकी सुन्दरी पर्यटक थिइन् । अहिले पनि दुईका पुराना यादहरु उनीहरुका मानसपटलमा उस्तै प्रेमिल थिए । चार महिनाअघिको त्यो भ्वाइस कल यही दशैँको समयमा नेपाल आइपुगेकी कोनीसँगको साक्षात्कारले साकार बन्यो । यतिबेला गिरिधारी ६८ वर्षका भइसके । कोनीको उमेरले पनि बैँशको नेटो काटेको छ ।

देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहा मात्र विदेशी पर्यटक आउने र रमाएर जाने थलोमात्र हैन । गिरिधारीको जस्तै माया प्रेम साट्ने थलो पनि हो । कतिपयको प्रेम नेपाल वा विदेशमा एकसाथ रमाउँछन् । तर, कतिपयको प्रेम गिरिधारीको जस्तै छुटिएर पनि जिउँदो रहन्छन् । केही अघि सौराहा आएकी कोनी गिरिधारीको घरमै पुगेर अंगालो हाल्दै धेरैबेर रोइन् । अंगालोमै फेरि ‘आइ लभ यु गिरि’ भनिन् । जुन पैँतिस वर्ष अघि बारम्बार सौराहामा भनेकी थिइन् । पैँतिस वर्षपछि पनि कोनीको मुटुको कुनामा गिरिधारीको प्रेम कतै लुकेर बसेको रहेछ । जुन त्यो दिन उनको स्वरसँगै आँखाबाट आँशु बनेर गिरिधारीका काँधमा झरिरहे । उनी पनि केही भावुक भए । तर, आफ्नी श्रीमती र परिवारका सदस्य सँगै भएकाले सम्हालिए । उनले सुनाए, “उसको पनि परिवार छ, मेरो परिवारले पनि दुख फिल गरेको अनुभव गरे ।”
अनि कोनीको पनि श्रीमान र परिवारले के सोच्लान भन्ने पनि उनलाई भयो । पैँतिस वर्षपछिको भेटलाई एक दिन भए पनि साथै बसेर दुखसुख साट्ने चाहना कोनीको थियो होला। कतै मैले गर्दा उसको बुढालाई नराम्रो लाग्न सक्छ भनेर धेरै नजिक नगएको गिरिधारिले सुनाए। कोनीले पनि पुरानो साथी भनेर चिनाएकी थिइन् । विदेशी भए पनि लोग्ने मान्छेको मन न हो । अलिकति केहीकुरा मन परेन भने डिभोर्स भइहाल्छ भन्ने सोचेर गिरिधारी सम्हालिए । उनीहरुको यो विगत स्मरण हाे । माया भए पनि अहिले उनीहरु साथीमा परिणत भए, अर्थात् पूर्व प्रेमी-प्रेमिका ।
नेपाल आउनु अघि कोनीले गिरिधारीको फेसबुक खोजेर भ्वाइसकल गरेकी थिइन् । आफ्नो बुढासँग विदेशी महिलाले अंगालो हालेको देखे पनि श्रीमतीले पहिले त केही भनिनन् । घरमै आएकाले पहिले त गिरिधारीकी श्रीमतीले पाहुना भनेर सम्मान गरिन् । गइसकेपछि भने घरमा झगडै गरिन् । श्रीमतीलाई पनि उनीहरुको पुरानो प्रेम थाहा थियो । गिरिधारीले कोनीसँग बिहे गरेको भनेर श्रीमतीलाई उ बेला नै सुनाइदिएका थिए ।
“भेटेर कोनी गएपछि भने फाइट परिहाल्यो”, उनले भने, “जाउ त्यही बुढीसँग जाउ, मलाई पचास हजार देउ म एकातिर घुम्न जान्छु, तिमीहरु सँगै बस सम्म भनिन् । अब उमेरले त्यस्तो सोच्ने अवस्था पनि रहेन ।” तर, श्रीमतीले अझै नबुझेको जस्तो गर्दै पहिलेकै जस्तो सोचिरहेको गिरिधारी सुनाउँछन् । उनको एक छोरी पोर्तुगलमा बस्छिन् । उसले बोलाइरहेकाले त्यहाँ जाँदा कोनीसँग फेरि भेट हुनसक्ने गिरिधारीले बताए।
३५ वर्ष अघि यसरी बस्यो कोनीसँग गिरिधारीको प्रेम
पैँतिस वर्ष अघिको सौराहा अहिलेका जस्तो थिएन । थारु बस्तीको माझमा खुला चोक र छेउमै बग्ने राप्ती अनि चितवन निकुञ्जको जंगल । प्रकृतिको सुन्दरतासँगै त्यही राप्तीको छेउ डुल्ने गैँडा हेर्दै सूर्यास्तको मजा लिन विदेशी पर्यटकहरु आउँथे । अर्गानिक पर्यटन क्षेत्र थियो । अहिलेजस्तो घरहरु र भीडभाड थिएन ।
सौराहामा त्यतिबेला ठूलो होटल भनेको गैँडा वाइल्ड लाइफ र अन्य केही मात्र थियो । गिरिधारीका बुबा मल्लु महतोले सौराहालाई विदेशी पर्यटकको गन्तव्य बनाउन अभियान नै थालेका थिए । गिरिधारीले पनि बुबाकै पथ समाउँदै वेन्डिज लज चलाएका थिए । घुम्न आएका विदेशीहरु गिरिधारीलगायतका युवाहरुको साथी धेरै बन्थे । अहिलेको जस्तो सामाजिक सञ्जाल थिएन । त्यसैले फेरि सौराहा घुम्न आउँदामात्र भेट र कुराकानी दोहोरिन्थ्यो ।
उनी सम्झन्छन्, “किन हो कुन्नी, मेरो अनुहार कस्तो थियो, कुनै पनि केटीसँग कुरा गर्यो भने मसँग आएर नजिक बस्न खोज्थे, धेरै पटक मैले अनुभव गरेँ तर, त्यता चाहिँ लागिन ।” जवानीमा त स्याल पनि घोर्ले हुन्छ । खाइलाग्दो ज्यानका गिरिधारी काले–काले भए पनि हिसि परेको जवान थिए ।
गिरिधारीसँगको प्रेम कहानी भिडियोमा यहाँ हेर्न सकिन्छ
https://www.facebook.com/samriddhisanchar/videos/3906274436280677
स्विटजरल्याण्डबाट कोनीको दिदीबैनी सौराहा घुम्न आएका थिए । होटल वाइल्ड लाइफमा बस्थे । सौराहामा भेटघाट भयो । धेरै विदेशी केटीहरु विवाह नगरेको केटो भए मन पराउथे । यदी विवाहित भए सकभर नछुने गर्थे । त्यस्तो थाहा पाएपछि आफ्नो विवाह भइसकेको भए पनि कुनै बेला जिस्काएर ‘आइ एम नट म्यारिड’ भन्दिन्थे गिरिधारी ।
तर कोनी उनीसँग नजिक भइन् । प्रेमिल दिन सम्झँँदै उनले बैनीलाई होटलमै राखेर सौराहा घुमेको बताए । उनले भने, “हामी दुई जना कहिले नाइट वाक जाने, कहिले निकुञ्ज, कहिले विसहजारी ताल जाने गरियो।” झण्डै दुई हप्ताको सौराहा बसाइले दुईको प्रेम झाङ्गियो ।
गिरधारीको त्यसबेला बच्चा–बच्ची भइसकेको थियो । तर कोनीका प्रेमको अघि उनले हार माने । घुम्दाघुम्दै छुटिनैनसक्ने गरी प्रेम बढी भयो । एक दिन कोनी फर्कने बेला भयो । गिरिधारीले ति दिन सम्झे, “उसँगै म काठमाडौँ पनि गएँ, उ त्यहाँबाट दार्जिलिङ गइन् । म फर्किएर चितवन आइ फेरि दार्जिलिङ गएँ, त्यसपछि भारतको दुधुवा नेशनल पार्क गएर एक महिना जति सँगै बस्यौँ ।”
यता घरमा बच्चा कान्छी छोरी (शुशिला) जन्मिसकेकी थिइन् । एकदम गहिरो सम्बन्ध भएकाले उसले पनि बिर्सिन सकेन र मैले पनि सकिन ।
त्यसपछि उनले घरमा आएर सबै परिवारलाई विदेशी युवतीसँग आफ्नो प्रेम बसेको बताए । त्यतिबेला एक जना लोग्ने मान्छेले जति विहे गरे उनको समाजले पचाउने समय थियो ।
उनले भारतबाट फर्किएपछिको स्मरण सुनाए, “मैले त उसँग विहे गरेँ भनेर भन्दिएँ श्रीमतीलाई, साथी मात्रै भनेको भए फरक पर्दैन थियो,विहे नै गरेको भनिदिएपछि मिसेसले कस्तोकस्तो मान्यो । तर मैले त्यसै भनेको थिएँ ।
यसपाला भेटन् आउँदा श्रीमती र परिवारले राम्रै मान्यो । कान्छी छोरी र ज्वाइँ श्रीलालले त सँगै राखे घुमाए । पर्यटन क्षेत्रमा गाइड गर्नेहरु कति विदेश गइसके । कतिको यसैगरी प्रेम बसेर जीवन राम्रो भएको छ । विदेशमै स्थापित भइसकेका छन् । तर गिरिधारिले त्यो सोचेनन् ।
कोनी र गिरिधारी छुट्टिएपछि कोनीको जीवन पनि फेरियो । नेपालबाट गएको पाँच वर्षपछि उतै बिहे गरिन् । छुट्टै संसार बसाइन् । गिरिधारीसँग सम्पर्क टुट्यो ।
छोराछोरी हुकाईन् । यता सौराहामा गिरिधारीको श्रीमतीले झगडा हुँदा अर्को श्रीमती छ त विदेशमा उतै जाउ भनेर करकर गरिरहन्थिन् । तर कोनीसँग उनको सम्पर्क त्यही दिनबाटै टुटेको थियो तर पनि श्रीमतीले पत्याएकी थिइनन्।
पैँतिसवर्षपछि भेटेको पूर्व प्रेमिल जोडी यसपाला उसैगरी छुटिए । नयाँ संसार कायम राख्न पुराना प्रेमलाई मुटुभित्रै कतै साँच्दै आफ्नो–आफ्नो देश र कर्ममा फर्किए । नजिक हुनु, साथ बस्नु र परिवार बनाउनुमात्र प्रेम होइन । टाढा भएर पनि प्रेम गरिरहनु पनि प्रेम हो । साँचो प्रेम हरेक मानिसको जीवनमा एक पटक हुन्छ । जुन टाढा वा नजिकको दूरीले असर पार्दैन । दूर देशका गिरिधारी र कोनीको प्रेमले यही पाठ सिकाइरहेको छ । तर अब याे एकादेशकाे कहानी र मनभित्र बस्ने विस्मृति मात्रै भएको चाैधरीले बताए।
गिरिधारीसँगको पूर्ण अन्तरवार्ता : तल लिंकमा हेर्न सक्नुहुन्छ । उनले सौराहाको पर्यटन क्षेत्रमा गरेको योगदानसहित