काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले पछिल्लो समय महिला खेलाडीहरूले खेलकुदका विभिन्न विधामा गरेको प्रतिस्पर्धा तथा प्राप्त सफलता नेपाल र नेपालीका लागि गौरवपूर्ण रहेको बताउनुभएको छ ।
अध्यक्ष दाहालले खेल क्षेत्रको सफलताको इतिहासमा आज फेरि एक आयाम थपिँदै इतिहास कोर्न सफल भएको उल्लेख गर्नुभएको छ ।
आज साँझ यूएईलाई पराजित गर्दै आईसीसी महिला यू–१९ टी–२० विश्वकपका लागि नेपाल छनोट भएपछि अध्यक्ष दाहालले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, “सफलताको इतिहासमा आज फेरि एक आयाम थपिएको छ । पहिलोपटक आईसीसी यु–१९ टी–२० महिला विश्वकपमा छनोट भएर नेपाली टीमले देशको गौरव बढाएको छ ।”
उहाँले इतिहास कोर्न सफल भएको भन्दै खेलाडीहरुको प्रशंशा पनि गर्नु भएको छ ।
उहाँले थप्नुभएको छ, “तपाईहरूको अठोट, साधना र मेहेनतले खेल क्षेत्रमा नयाँ इतिहास कोर्न सफल भएको छ । यु–१९ नेपाली महिला क्रिकेट टोलीलाई हार्दिक बधाई एवं विश्वकप यात्रामा सफलताको हार्दिक शुभकामना ।”
युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको आइसिसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो ।
युएईको अजमानस्थित द सेभेन स्टेडियममा आज टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली युएईले ८४ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १४ दशमलव ४ ओभरमा २ विकेटको क्षतिमा उक्त लक्ष्य पूरा गरेको थियो ।