काठमाडौँ : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले परम्परागत शैलीको वास्तुकला प्रयोग गरेर नमूना घर बनाउने कलाकार इन्द्रप्रसाद शिल्पकार र रविता शिल्पकारसँग आज काठमाडौँमा ललितकला संवाद आयोजना गरेको छ ।
युनेस्कोको सांस्कृतिक सम्पदा संरक्षण २०२३ बाट एसिया प्यासफिक अवार्ड प्राप्त भक्तपुरको दरबार क्षेत्र नजिकै रहेको ‘सिँ कःमि छेँ’ नाम दिइएको उक्त घर मौलिक कला र सिल्पको प्रयोग गरिएको छ ।
प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभागको आयोजनामा आज भएको संवादमा अन्य कलाकारहरुले सोधेको जिज्ञासा मेटाउँदै घर मालिक इन्द्रप्रसाद शिल्पकारले पुरानो घर भूकम्पले भत्काएपछि त्यस्तै परम्परागत शैलीबाटै घर बनाउन बुबाले दिएको सुझावलाई ध्यानमा राखेर उक्त घर निर्माण गरिएको बताउनुभयो ।
उहाँको परिवार काष्ठकलाका सिद्धहस्त भएकाले पनि उहाँहरुको सीप उक्त घरमा पूर्ण रुपमा प्रयोग गरिएको छ । घरका अधिकाँश भागमाकाठ प्रयोग गरिएको र मौलिक नेवारी परम्पराको उक्त घर पुरातत्व विभाग, भक्तपुर नगरपालिकाको स्वीकृतिमा भूकम्पप्रतिरोधी समेत हुने गरी निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।
त्यसका लागि उनकी बहिनी रविता शिल्पकार आर्किटेक समेत भएकाले पनि घर निर्माणमा सहजभएको थियो । सम्वाद कार्यक्रममा रविताले पनि घर निर्माणबारे आफ्नो अनुभव सुनाउनुभएको थियो ।
कलाकारद्वय इन्द्रप्रसाद शिल्पकार र रविता शिल्पकारले परम्परागत नेवारी वास्तुकलाअन्तर्गतको मौलिक शिल्पकला तथा आधुनिक प्रविधिको सर्वोत्तम उदाहरणका रूपमा लिन सकिने यस सिर्जनाको प्राविधिक र कलात्मक पक्ष निर्माण गरिनुको उद्देश्यलगायतका विषयमा जानकारी दिनुभएको थियो ।
संवाद कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ललितकलाभित्र मुख्य रूपमा ध्यानाकर्षण कम हुने वास्तुकला क्षेत्रप्रति प्रतिष्ठान र राज्यले ठोस कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उहाँले यस्ता घरहरु पर्यावरणीय र वातावरणीय हिसाबले पनि महत्वपूर्ण रहेको बताउनुभयो ।
प्रतिष्ठानका वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले शिल्पकार परिवारले वास्तुकलाको नमुनाका रूपमा बनाएको घर वास्तवमै नमुना रहेको बताउनुभयो ।
उहाँले सङ्कटमा रहेको यो नेवारी शैलीको ज्ञानलाई आगामी पुस्तामा पुस्तान्तरण गर्दै शिल्पकार परिवारको वास्तुकला, काष्ठकला तथा नेपाली मौलिक वास्तुकलाको ज्ञानलाई संरक्षण, प्रवर्धन तथा प्रचार–प्रसार गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।
“आगामी दिनमा हामी ओझेलमा परेका यस्ता विभिन्न कलाको क्षेत्रमा क्रियाशील तथा अग्रज कलाकारहरूलाई समेट्ने प्रयास गर्ने छौँ”, दर्शनधारीले भन्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामा, लोककला विभाग प्रमुख प्रदीप अधिकारी, समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय वान्तवा राईलगायतको सहभागिता थियो ।
पूर्ण परम्परागत स्वरूपमा बनाइएको शिल्पकारको घरमा देखिने वास्तुकला यहाँको अनुपम नमुना हो । काठमा कला भरेर बनाइएको घरको बाहिरी र भित्री स्वरूप जति आकर्षक छ । परम्परागत रूपमै इँटा, सुर्की, चुना (सिमेन्टको सट्टा गाह्रो बनाउन प्रयोग गरिने परम्परागत वस्तु) बाट बनाइएको कार्यक्रममा जानकारी दिइएको थियो ।
भक्तपुरका धेरै घरहरु सिमेन्टका बनाइएका छन् र स्थानीय पालिकाको मापदण्ड अनुसार बाहिरी स्वरुप मात्रै परम्परागत खालको बनाउने गरिएको छ । तर शिल्पकारको घर तल जगदेखि नै माथिसम्म परम्परागत र मौलिक खालको बनाइएको छ ।
काठका दलिनहरु प्रयोग गरिएको छ, कलात्मक झ्याल ढोका छन्। भूकम्प प्रतिरोधी मापदण्डको समेत बनाउनुपर्ने भएकाले सोही अनुसार तर मल्लकालीन संरचनाको नमूनाका रुपमा बनाइएको छ ।