काठमाडौँ : जनताका मुद्दामा केन्द्रित हुन नसकेको तथा भ्रष्टाचार र शून्य सहनशीलतामा चुकेको भन्दै सरकारको विरोध भइरहेको छ। दुई ठूला दल मिलेपछि भ्रष्टाचार मौलाएको आरोप लागिरहेको छ। सत्ता फेरिए पनि अवस्था उस्तै रहेको गुनासा आइरहँदा सत्तारुढ दुई दलले संयन्त्र गठन गरेका छन्।
प्रतिपक्ष दलहरूले सरकारको विरोध गर्न थालेपछि एमाले र काँग्रेसले दुई दलबीचको सम्बन्ध मजबुत बनाउन तथा सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन भन्दै एक समन्वय संयन्त्र गठन गरेका हुन्।
संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणा देउवा छन्। एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार समेत रहेका उपमहासचिव विष्णु रिमाल छन्।
समन्वय संयन्त्रले सरकारको प्रभावकारिता, सरकारको न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्न सहजीकरणको भूमिका निर्वाह गर्ने एमाले नेता तथा प्रचार प्रसार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
संयन्त्रमा केन्द्रको हकमा काँग्रेस र एमालेका चाररचार जना नेता रहने छन्। प्रदेशमा पनि तीनरतीन जना रहने गरी संयन्त्र विस्तार गर्ने र जिल्लामा दुई, दुई जना रहने गरी संयन्त्र बनाइने गौतमले बताए।
एमालेले प्रदेशको हकमा इन्चार्ज, अध्यक्ष र संसदीय दलका नेता तथा जिल्लाको हकमा जिल्ला इन्चार्ज, अध्यक्ष र सचिव रहने गरी संयन्त्र बनाउन प्रस्ताव गरेको छ। एमाले प्रचार विभाग प्रमुख गौतमले पछिल्लो समय सरकारमाथि आक्रमण सुरु भएको अवस्थामा अब मजबुत सरकार बनाउनका लागि यस संयन्त्र प्रभावकारी हुने समेत बताए।
कार्यदलको पहिलो बैठकले कार्यदलको संयोजन दुई दलले एक–एक महिना पालै पालो गर्ने निर्णय गरेको छ। पहिलो महिना मङ्सिर २० सम्म कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कार्यदल बैठकको संयोजन गर्नेछन्।