काठमाडौँ : अग्रज कलाकार तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्यको जीवनीमा आधारित बालचित्र कथा ‘हिलोमा फुलेको फूल’को पहिलो भाग बजारमा आएको छ ।
नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा नेपाल बालसाहित्य समाजले सो पुस्तकको अग्रज कलाकार हरिप्रसाद शर्माले विमोचन गरेका हुन् ।
कर्माचार्यको जीवनीमा आधारित रही बालसाहित्यकार विजयराज आचार्यले लेखेको सो पुस्तक विवेक सिर्जनशील प्रकाशनले बजारमा ल्याएको हो ।
कार्यक्रममा अग्रज कलाकार शर्माले कर्माचार्यका बारेमा सचित्र पुस्तक प्रकाशन हुनु सराहनीय कार्य भएको बताए । उनले नेपाली ललितकलाका क्षेत्रमा कर्माचार्य सुपरिचित व्यक्तित्व भएकाले पुस्तकमार्फत कला र कलाकारको व्यक्तित्वलाई चिनाउन लेखकको समेत भूमिका अहम् रहेको धारणा राखे ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाली ललितकला जगतमा कर्माचार्यको विशिष्ट योगदान रहेको बताए । उनले पुस्तकमार्फत अग्रज कलाकारको कलायात्रा र कलाकर्मलाई बुझ्न निकै सहज भएको विचार व्यक्त गरे ।
यस्तै, प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले नेपाली कलाजगतमा कर्माचार्यले पाँच दशकभन्दा लामो समयदेखि योगदान दिएको बताउँदै पुस्तक प्रकाशनले कलाकारको संघर्षको कथालाई नियाल्न निकै सहज भएको बताए ।
उनले कलाकार कर्माचार्यले नेपालमा पहिलो पटक कोलाज कला बनाएको सुनाउँदै चार सयभन्दा बढी हुलाक टिकट डिजाइन गरेको इतिहास पनि कर्माचार्यले बनाएको जानकारी दिए ।
पुस्तकका लेखक विजयराज आचार्यले कलाकार कर्माचार्यको संघर्षको कथालाई पुस्तकका रुपमा ल्याएको बताए । उनले कर्माचार्यलाई २० वर्षभन्दा लामो समयदेखि नजिक रहेर बुझेको सुनाए । कलाकार कर्माचार्यले पुस्तकमा आफ्नो कलायात्राको विषय आएको बताए ।
उनले कलाकर्ममा लाग्दा सुरुका दिनमा गरेको संघर्ष र परिवेश पुस्तकमा आएको सुनाए । कलाकार कर्माचार्यले भने, ‘जीवन भोगाइका यथार्थ तथ्यहरुलाई संवादको शैलीमा आधारिेत भई पुस्तक लेखिएको छ । यसमा मेरो बाल्य जीवनका विविध पाटा, पात्र र परिवेशलाई आकर्षक सन्दर्भ चित्रका प्रस्तुत गरिएको छ ।’
पुस्तकमा रहेका चित्र कलाकार कर्माचार्य आफैले बनाएका हुन् । सो पुस्तकमाथि प्रा.डा.जीवेन्द्रदेव गिरी र समीक्षक मुकेश मल्लले टिप्पणी गरेका थिए ।
पूर्वमन्त्री प्रदीप ज्ञवाली, पूर्वमन्त्री शंकर कोइराला, प्रतिनिधिसभा सदस्य रघुजी पन्त, अनन्त वाग्लेलगायतले कर्माचार्यको कृतित्व र व्यक्तित्वका बारेमा चर्चा गरेका थिए ।
उनीहरुले कलाकार कर्माचार्यको जीवन, संघर्ष र सफलताका बारेमा बोलेका थिए । यौटा कलाकारको संघर्षको कथा र व्यथासँगै त्यो बेलाको काठमाडौंको जीवनशैली र बस्ती, बसोबासका विविध पाटालाई कलात्मक रुपमा उतारेको र कर्माचार्यको जीवनीलाई लेखक आचार्यले सजीवरुपमा प्रस्तुत गरेको कार्यक्रममा वक्ताहरुले बताएका थिए ।
सो बालसाहित्य कृति ‘हिलोमा फुलेको फूल’को मूल्य तीन सय रहेको छ ।