काठमाडौँ : यसपालिको तिहार सुरु भएपछि अहिलेसम्म जुवा खेल्ने/खेलाउने जस्तो गैरकानुनी क्रियाकलापमा संलग्न ६४० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीमा अहिलेसम्म देशभरबाट प्राप्त विवरण अनुसार हारजित हुने गरी नै जुवा खेल्ने खेलाउने कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरी खालबाट एक करोडभन्दा बढी रकमसमेत बरामद गरिएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले भन्नुभयो, “यो केन्द्रमा प्राप्त विवरण हो, आजको विवरण कतिपय जिल्लाबाट प्राप्त भइसकेको छैन, त्यसैले संख्या यो भन्दा पनि बढी छ ।”
यसका साथै पटाका पड्काउने, होहल्ला गर्ने, आपराधिक क्रियाकलापमा संलग्न हुने, लापसे र मापसे गरेर गाडी चलाउने, पटाका ओसारपसार गर्नेहरुलाई समेत पक्राउ गरी कारबाही अभियान जारी रहेको उहाँले जानकारी दिनुभयो । सबैभन्दा बढी जुवातास खेल्ने खेलाउनेलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।
प्रवक्ता कार्कीले थप्नुभयो, “वर्षमा एक पटक आउने चार्ड तिहार परिवारसँग बसेर खुसीयाली मनाउनुपर्नेमा दाजुभाई दिदीबहिनीलाई नै खल्लो पार्ने गरी जुवातास खेलेर प्रहरी हिरासतमा बस्नु राम्रो होइन, यो कुरा त बुझ्नुपर्ने हो, तर लापरबाही गरेको पाइयो ।”
उनीहरुलाई मुलुकी अपराध संहिताको दफा १२५ अनुसार जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुर अनुसार कारबाही हुने छ । पहिलोपटक पक्राउ परेको खण्डमा प्रमुख जिल्ला अधिकारीमार्फत ३० हजार जरिवाना र ३ महिनासम्म कैद हुने व्यवस्था छ । यस्तै दोस्रो पटकमा जुवाडे भेटिएको अवस्थामा भने मुद्दा अदालतमै जाने र तीन महिना कैद र ५० हजारसम्म जरिवाना हुने उहाँले बताउनुभयो ।
त्यसपछि फेला परेको खण्डमा पटकैपिच्छे थप तीन महिना कैद र १० हजार रुपयाँ जरिवाना थपिँदै जाने छ । यसका साथै बरामद रकमसमेत जफत हुने छ । उहाँका अनुसार देशका ७७ वटै जिल्लामा झण्डै ५० हजार सुरक्षाकर्मी तिहारको सुरक्षामा दैनिक रुपमा परिचाल नभएका छन् ।
पटाका र पटाका जन्य पदार्थ, जुवातास र देउसीभैलो तथा साँस्कृतिक कार्यक्रम गरेर होहल्ला गरी आपराधिक गतिविधिप्रति प्रहरीले सादा पोशाकमा समेत प्रहरी परिचालन गरी सुक्ष्म निगरानी गरिरहेको जानकारी गराएको छ ।
यसका लागि सवारी व्यवस्थापन तीव्र गति नियन्त्रण, ठगी, चोरी, लुटपाट, मापसे लापसेर गरेर गाडी चलाउने तथाशान्ति सुरक्षा खलल पार्ने गतिविधि नियन्त्रणमा समेत प्रहरीलाई सक्रिया रुपमा खटाइएको जनाइएको छ ।