काठमाडौँ : ललितकलाका कलाकारहरुले कुनै दृष्य हेरेर वा कुनै विषयमा चित्र सिर्जना गर्दै आएका हुन्छन् । तर आज नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा चित्र सिर्जनाको दृष्य फरक देखिएको थियो ।
कविका काव्यका आधारमा कविताले औँल्याएका कुराहरुलाई मुख्य विषय बनाएर कलाकारले चित्र सिर्जना गरेका छन् । कविताको भावलाई चित्रमा उतार्नु सहज छैन, तर त्यही काम आज यहाँ भएको छ ।
“कविलाई नै सहभागी गराएर उहाँका काव्यमा चित्र सिर्जना गरी एउटा नयाँ अभ्यास थालिएको हो”, प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले, थुम्केलीले भन्नुभयो, “ललितकलाका कलाकारले चित्र बनाउनुभयो कविले कविता वाचन गर्नुभयो ।”
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र एपेक नेपालले आज यहाँ ‘काव्य–चित्र सिर्जना उत्सव’नै आयोजना गरी प्रत्यक्षरुपमा काव्यमा आधारित चित्र सिर्जना गरिएको हो ।
यस उत्सवमा १५ जना कविहरू विश्वमोहन श्रेष्ठ, राजेन्द्र शलभ, विधान आचार्य, स्नेह सायमी, किशोर पहाडी, गीता कार्की, मोमिला, रजनी ढकाल, मणि लोहनी, बाबु त्रिपाठी, प्रज्वल अधिकारी, सुमन थापा, अनिता लामा, ओम रिजाल, दीप दर्पणका कविता समावेश गरिएको थियो ।
तीन कवितामा आधारित भएर १५ जना कलाकारहरू दिनेश्वर महतो, अरुणा हिङमाङ, सौरगंगा दर्शनधारी, सन्तोष राई, दीपेन्द्रमान बनेपाली, देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, सञ्जय बान्तवा राई, किरण मानन्धर, रमेशनाथ खनाल, नरेन्द्रबहादुर श्रेष्ठ, केशवराज खनाल, राधेश्याम मुल्मी, विपना महर्जन, के.के. कर्माचार्य र सुन्दर लामाले चित्र सिर्जना गर्नुभएको हो ।
कलाकृति सिर्जनापश्चात आयोजित कार्यक्रममा कविहरूले कवितावाचन पनि गर्नु भएको थियो । प्रतिष्ठानको समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय बान्तवा राईले ललितकलामा यो कार्यक्रम फरक प्रयोग भएको बताउनुभयो ।
उहाँले साहित्यकार तथा ललितकलाकर्मीलाई जोड्न यस्ता कार्यक्रम सहयोगी हुने बताउनुभयो । एपेक नेपालका अध्यक्ष विश्वमोहन श्रेष्ठले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानसँग सहकार्यमा पहिलोपटक यस कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
