काठमाडौँ । देवदेवीका विषयमा नेपाली कलाको लामो इतिहास र परम्परालाई चित्रण गरिएका अग्रज कलाकार सुन्दर सिंख्वालको एकल पौभा कला प्रदर्शनी आजदेखि काठमाडौँमा सुरु भएको छ ।
कलाका हिसाबले अति महत्वपूर्ण तर प्रदर्शनीका हिसाबले निक्कै चुनौतीपूर्ण मानिने पौभा कलाको एकल प्रदर्शनी बबरमहलस्थित काठमाडौँको सिद्धार्थ आर्ट ग्यालरीमा सुरु भएको हो ।
‘साधना’ शीर्षकमा सुरु प्रदर्शनीमा कलाकार सिंख्वालका ३० वटा पौभाचित्र समावेश गरिएको छ । उहाँले आफ्नो ३५ वर्षको लगावको उपलब्धिस्वरुप आजको पहिलो एकल पौभाकला प्रदर्शनी भएको बताउनुभयो ।
पौभा कलामा लामो त्यागपछि तयार भएका चित्र सिर्जनाहरु प्रदर्शनीमा राखिएकाले उक्त प्रदर्शनीको शीर्षक नै ‘साधना’ राखिएको कलाकार सिंख्वाल जानकारी दिनुभयो ।
प्रदर्शनीमा हिन्दु र बौद्ध दर्शनमा आधारित पौभाकला राखिएको छ । जसमा हिन्दु दर्शनका गणेश, सरस्वती, कुमार, लक्ष्मी, विष्णु, कृष्ण, भद्रकाली, गुह्येश्वरी, हरिहर आदि तथा बौद्ध दर्शनका लोकेश्वर, मञ्जुश्री, आर्यतारा, बसुन्धरा, वज्रधर, जम्भला (कुबेर), चक्रसंवर शक्ति, २१ ताराआदि समावेश गरिएको छ ।
यहाँ राखिएका पौभा सिर्जनाहरु पोस्टर, जलरङ, एक्रेलिक, तेलरङआदि माध्यममा बनाइएका छन् ।
आस साँझ भएको उद्घाटन समारोहमा बोल्दै रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका पूर्वअध्यक्ष निभा प्रधानले उहाँका पौभाचित्रले नेपालको पहिचान देखाएको सुनाउँदै अवलोकन गर्न कला पारखीहरुलाई अनुरोध गर्नुभयो । प्रदर्शनी एक महिनासम्म चल्ने छ ।
सिद्धार्थ आर्ट ग्यालरीकी सञ्चालिका सङ्गीता थापाले परम्परागत पौभा चित्र कलामार्फत कलाकारले नेपाली मौलिक कलाको पहिचान देखाउन सफल भएको बताउनुभयो । उहाँले यहाँबाट आएको आम्दानी केही प्रतिशत विपद् प्रभावितलाई सहयोग गर्ने पनि जानकारी दिनुभयो ।
असीमित समय र कडा परिश्रम लगाएर मात्र पौभा चित्र सिर्जना गर्न सकिन्छ । यस प्रदर्शनीमा राखिएका कलाले नेपालको मौलिक कला परम्परालाई चिनाउन सहयोग पुग्ने विश्वास गरिएको कलाकार सिंख्वालले बताउनुभयो ।