काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज यसपालिको दशैँ विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै कोशी, मधेश, र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जानकारी गराएको छ ।
आज सार्वजनिक गरिएको बुलेटिन अनुसार यस वर्ष दशैँको सप्तमी (२४ गते), अष्टमी/नवमी (२५ गते), र दशमी (२६ गते) का दिनमा कोशी प्रदेश र मधेश प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनइएको छ ।
विभागले कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहन अनुमान सार्वजनिक गरेको छ ।
बॉकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागले जानकारी गराएको छ । साथै उक्त दिनहरुमा अधिकांश स्थानहरूमा अधिकतम तथा न्युनतम तापक्रम सरदर भन्दा थोरै घट्ने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । उहाँले ठूलो पानी पर्ने सम्भावना भने नरहेको बताउनु भएको छ ।
मौसम पूर्वानुमान महाशाखाबाट जारी गरिने ३ दिने मौसम पूर्वानुमानमा यस सम्बन्धी जानकारी अध्यावधिक गरिने भएकोले महाशाखाको वेबसाइट हेर्न पनि अनुरोध गरिएको छ ।
यसवर्षको मनसुन मंगलबारसम्म काठमाडौँ उपत्यकासहित कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पुर्ण भू–भागबाट बाहिरिसकेकोछ । महाशाखाका अनुसार बागमती प्रदेशको पश्चिमी भू–भाग र मधेश प्रदेशका पश्चिमी भू–भागका थोरै स्थानहरूबाट पनि मनसुन बहिर्गमन भएको छ । हाल कोशी प्रदेशलगायत मधेश प्रदेश र बागमती प्रदेशको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ ।
यता गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत मधेश प्रदेश र बागमती प्रदेशको पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । नेपालमा यही असोज २० गतेबाट यसवर्षको मनसुन बहिर्गमन सुरु भएको थियो । यसवर्षको मनसुन गत जेठ २८ गते नेपालमा भित्रिएको थियो ।