काठमाडौँ : काठमाडौँ उपत्यकामा आज सर्वाधिक वर्षा ( रेकर्ड ब्रेक वर्षा) भएको छ । जसका कारण ठूलो वितण्डा मच्चाएको छ ।
यहाँ आज विहान वर्षा मापन सुरु भएयताकै बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् रोजन लामिछानेले आज विहान ८ः४५ बजे त्रिभुवन विमानस्थल वर्षा मापन केन्द्रमा पछिल्लो २४ घण्टामा २३९.७ मिलिमिटर वर्षा मापन भएको जानकारी दिनुभयो । यो मापन सुरु भएयताकै सर्वाधिक वर्षा भएको उहाँले बताउनुभयो । यसअघि सन् २००२ मा यहाँ १७७ मिलिमिटर वर्षा रेकर्ड भएको थियो ।
मौसमविद् लामिछानेले काठमाडौँ उपत्यकामा यति ठूलो वर्षा अहिलेसम्म मापन नभएको प्रारम्भिक अध्ययनले देखाएको र विस्तृत अध्ययन गरी केही दिनमा विस्तृत अवस्था प्रतिवेदन सार्वजनिक गरिने पनि राससलाई जानकारी दिनुभयो ।
उपत्यकाका अन्य ९ मापन केन्द्रमा पनि धेरै वर्षा मापन भएको छ । ललितपुरको चापागाउँमा सन् २००२ मा २४ घण्टामा २००.५ मिलिमिटर वर्षा भएकोमा आज शनिवार ३२३ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।
आज साँझ भने जिरीमा ११२.४, जनकपुरमा १००, लुम्लेमा ११३.३, धरानमा १७७.६, धनकुटामा १७३, ओखल्ढुंगामा ११०.१ काठमाडौँमा १९४, सिमरा १२०, भैरहवामा १९४.२ मिलिमिटर वर्षा भएको छ ।
भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा शनवार रातिसम्म देशभरमा ८७ जनाको मृत्यु भएको छ भने ७२ जना बेपत्ता भएका छन् । काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता छन् ।