काठमाडौँ : जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज साँझ बाढीको पनि विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरुको सूची सार्वजनिक गरेको छ ।
अबको तीन दिन मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने पूर्वानुमान सार्वजनकि भएपछि आज बाढी पूर्वानुमान महाशाखाले पनि जल सतह बढ्ने नदीहरुको विवरण सार्वजनिक गरेको हो ।
प्राप्त विवरण अनुसार असोज ११ गते नारायणी नदीमा उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहेको छ । यस्तै कन्काई नदी ११ गते उच्च जोखिम हुने र अरु समयमा मध्यम जोखिम हुने जनाइएको छ । कमला नदी असोज ११ गते उच्च र १२ गते मध्यम तथा बागमती नदी पँधेरादोभानमा ११ गते उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहेको महाशाखाले जानकारी गराएको छ ।
यस्तै पूर्वी राप्ती रजैयामा ११ गते मध्यम जोखिम रहेको छ भने १२ गते उच्च जोखिम रहेको विवरण सार्वजनिक गरिएको छ । यस्तै पश्चिम राप्ती कुसुममा ११ गते मध्यम जोखिम रहेको तर १२ गते भने अति उच्च जोखिम रहेको तथा बबई नदी ११ गते मध्यम जोखिम छ भने १२ गते अति उच्च जोखिम रहेको जनाइएको छ ।
यी उच्च र मध्यम जोखिम रहेका नदी तथा त्यसका सहायक नदीहरुमा जलसतह खतराको तह आसपार र केही क्षेत्रकमा खतराको तहसमेत पार गर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
अबको तीन दिन ती नदी तटीय क्षेत्रमा सावधानी अपनाउन अनुराध पनि गरिएको छ । असोज १४ गतेदेखि भने यस प्रणाली कमजोर हुने जनाइएको छ ।
विपद प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले नदी आसपासका बासिन्दा, डुवा हुने क्षेत्रका वासिन्दा र पहिरो खस्ने जोखिम युक्त क्षेत्रका बासिन्दाले विशेष सावधानी अपनाउन अनुरोध गर्नुभएको छ ।
उहाँले विपद पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको निर्णय अनुसार उच्च जोखिम रहेका ५६ जिल्लामा रात्रिकालीन बस नचलाउने आग्रह गरिएको पनि जानकारी दिनुभयो ।
