चितवन : चितवनमा चाडबाड लक्षित सहुलियत मूल्य पसल आजदेखि सञ्चालनमा आएको छ।उपभोक्तालाई दैनिक उपभोग्य सामाग्री सहुलियत रुपले बिक्रीवितरण गर्ने उद्देश्यसहित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड नारायणगढबाट यो सेवा शुरु गरिएको हो ।
पसलको उद्घाटन जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गरे। उद्धघाटनपछि प्रतिक्रिया दिँदै प्रजिअ यादवले बजारमा कालोबजारी तथा कृतिम अभाव रोक्न सहुलियत पसलले मद्दत पुरयाउने बताए।
‘विशेषगरी सर्वसाधारणले सुलभ मूल्यमा सामाग्री प्राप्त गर्नुहुन्छ’, उनले भने , ‘यसले सर्वसाधारणलाई राहत पनि हुन्छ । कालोबजारी र कृतिम अभाव पनि रोकिन्छ ।’ उनले आम उपभोक्तालाई साल्ट ट्रेडिङ्गबाट किन्दा सही मुल्य हुने र मिसाबट नहुुने हुंँदा यहीँबाट किन्न आग्रह गरे ।

कर्पोरेशन नारायणगढका प्रमुख बुद्धिविनोद दाहालले चाडबाड लक्षित सहुलियत पसल आजबाट सञ्चालनमा आएको जानकारी दिए। आम उपभोक्तालाई सहज र सहुलियत रुपले दैनिक उपभोग्य सामान पाउन भन्ने उद्देश्यले अघिल्ला वर्षजस्तै यसवर्ष पनि सहुलियत पसल सञ्चालनमा ल्याइएको प्रमुख दाहालले बताए। ‘चाडबाट लक्षित सहुलियत पसल आजबाट सञ्चालनमा आएको छ’, उनले भने, ‘हामीसंँग छठसम्मलाई पुग्ने सामाग्री मौज्दात छ।’
‘बजारमा यस्ता दैनिक उपभोग्य सामानको कृतिम अभाव र कालोबजारी नहोस भन्ने हेतुले पनि सहुलियत पसल सञ्चालनमा ल्याइएको हो। अर्को कुरा सहुलियत मूल्यको लाभ सबैले लिन पाउन भन्नु पनि हो’, प्रमुख दाहालले भने।
सहुलियत पसल बिहान १० बजेदेखि सांँझ पांँच बजेसम्म चल्नेछ । पसल दशैँ अघि असोज २२ गतेसम्म सञ्चालन हुने र दशैंपछि पनि निरन्तरता हुने उनले जानकारी दिए ।
दाहालका अनुसार सहुलियत पसलमा चिनी प्रतिकेजी, सय रुपैँया, आयो नुन प्रतिप्याकेट २४ रुपैँया मूल्य कायम गरिएको छ भने, अन्य खाद्य सामाग्री चामल, दाल, खानेतेल, चिउराको मूल्यमा पनि बजारभाउभन्दा कम मूल्यमा बिक्री भइरहेको छ ।
चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको हो ।
