काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेला आजदेखि काठमाडौँको प्रज्ञा भवनमा सुरु भएको छ ।
बुधवारसम्म भल्ने भेलाको पार्टी सभापति रवि लामिछाने र पदाधिकारीले घण्टी बजाएर उद्घाटन गर्नुभएको छ । पहिलो राष्ट्रिय भेलाको उद्घाटन समारोहमा सम्बोधन गर्दै सभापति लामिछानेले रास्वपाले दुईतिहाइको बहुमत नल्याउँदासम्म सबैलाई रास्वपामा जोडिन आव्हान गर्नुभयो ।
पार्टीको नामदेखि सहकारी प्रकरणसम्म नै लडिरहनुपरिरहेको उल्लेख गर्दै उहाँले पार्टी नेता कार्यकर्ताहरुलाई आफू जसैगरी जस्तोसुकै परिस्थितिमा पनि लडिरहन अनुरोध गर्नुभयो । उहाँले प्रहार निरन्तर आइरहने उल्लेख गर्दै बाहिरबाट हुने आक्रमणको प्रहार सामना गर्न तयार रहेको बताउनुभयो ।
उहाँले रास्वपा जित्न र हार्नका लागि नभई परिवर्तन र प्रेरणाका लागि राजनीतिमा होमिएको पनि जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “हामी लड्यौँ भने आफ्नै गोडामा अल्झिभएर लड्ने हो अरुले लडाउन सक्ने छैन ।”
उहाँले २०८४ सम्म छाती ठूलो पार्नुपर्नेमा जोड दिँदै बहुमत ल्याएपछि पार्टी त्यसै ठूलो हुने बताउनुभयो । सभापति लामिछानेले आफूहरु जति जोडिएका छौँ, देशमा परिवर्तन गर्न सक्षम रहेको बताउँदै अरु धेरै साथीहरु जोडिन आए भने यात्रा थप सहज हुने बताउनुभयो ।
उहाँले इलाममा रणनीति बनाउन नसक्दा आफूहरु हारेको स्वीकार गर्दै हामी दौडिएको तर संगठन निर्माण गर्न नसक्नाले हारेको बताउनुभयो ।
सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदनबारे उहाँले भन्नुभयो, “अब सहकारीबाट गोखा मिडियातिर जान्छ, सहकारीको कुरा त सकियो अब, थाहा भयो प्रमाण भनेको कस्तो हुन्छ भन्ने कुरा, हामीले भनिरहनु पर्दैन होला नी ।”
हिजो मात्रै उक्त प्रतिवेदन संसदमा पेश भएको छ । उहाँले विभिन्न नेताहरु विहानदेखि रातीसम्मै षड्यन्त्र गरेर बस्ने गरेको आरोप पनि लगाउनुभयो । उहाँले सरकारमा जान हुँदैनथियो भन्नेमा आफूले पनि महसुस गरेको सुनाउँदै रास्वपा एक ढिक्का रहेको दावी समेत गर्नुभयो ।
राष्ट्रिय भेलाको पहिलो दिन आज कार्यबहाक महामन्त्री एवम् संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गर्ने र त्यसमाथि छलफल हुने जनाइएको छ । सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन भोली पेस हुनेछ । त्यसमा आफूले सबै कुरा समावेश गरेको लामिछानेले उद्घाटन समारोहमा बताउनुभयो ।
उक्त भेलाले रास्वापाले राष्ट्रिय अभियान पनि घोषणा गर्ने तथा प्रथम महाधिवेशनको मितिसमेत तय गर्ने जनाइएको छ ।
भेलामा देशभरबाट १ हजार ५०० बढी प्रतिनिधि सहभागी भएका छन् । आज विभिन्न प्रतिवेदन र प्रस्तावमा छलफल हुनेछ । आज पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदन पेश गरिनेछ । आजै विधान संशोधन, नीति–विचार, मूल्य–मान्यता, क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबारेका प्रस्ताव राख्ने कार्यसूची छ ।
भेलाको दोस्रो दिन भोलि प्रस्तुत सबै प्रतिवेदन र प्रस्ताव उपर समूहगत छलफल हुने छ । भोलि नै प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छ भने अपरान्ह सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला भोलि नै सकिनेछ ।
भेलामा छलफलका लागि ल्याइने प्रतिवेदन र प्रस्ताव हिजो बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको छ । राष्ट्रिय भेलालाई सभ्य, भव्य र व्यवस्थित बनाउन रास्वपाले पार्टी पंक्तिलाई आग्रह गरेको छ ।