काठमाडौँ । मनसुनको पछिल्लो ९० दिनमा गत वर्षको सोही अवधिमा भन्दा विपद्बाट मानवीय क्षतिका घटनामा निक्कै बढोत्तरी भएको पाइएको छ ।
राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको जेठ २८ गतेदेखि भदौँ तेस्रो हप्तासम्मको ९० दिनमा मनसुनजन्य घटनाबाट २२५ जनाको मृत्यु भएको पाइएको हो ।
प्राधिकरणका प्रवक्ता डा डिजन भटुटराईले सो अवधिमा ४९ जना बेपत्ता र २८४ जना घाइते भएको जानकारी दिनुभयो । प्रभावित परिवारको संख्या भने अली कम रहेको पाइएको छ ।
प्राधिकरणले ९० दिन (जेठ २८–भदौँ २२)सम्मको अवस्था प्रतिवेदन आइतवार सार्वजनिक गर्दै मनसुनजन्य विपद् प्रभावित परिवार संख्या ४ हजार ६१५ पुगेको जानकारी गराएको छ ।

गतवर्ष यसै अवधिमा मनसुन सुरु भएको ९० दिनको अवधिमा ८५ जनाको मृत्यु, २९ जना बेपत्ता, १२६ जना घाइते भएका थिए । विपद् प्रभावितको परिवारको संख्या भने ६ हजार ३० रहेको थियो ।
यो मनसुनमा मनसुनजन्य विपद्ले सबैभन्दा धेरै बागमती प्रदेशमा ५७ जना र सबैभन्दा कम मधेस प्रदेशमा ५ जनाको मृत्यु भएको छ ।
यो वर्ष मनसुनजन्य विपद्मध्ये सबैभन्दा धेरै पहिरोबाट १३५ जना र सबैभन्दा कम भारी वर्षाबाट १ जनाको मृत्यु भएको पनि प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यस्तै बाढीबाट ४९ र चट्याङबाट ४० जनाले ज्यान गुमाएका छन् ।
गत असार २८ गते चितवनको भरतपुर महानगरपालिकाको सिमलतालमा गेग्ग्रान बहाबमा परी दुई बसका ६२ जना यात्रु त्रिशुली नदीमा बेपत्ता भएकामा २४ जनाको शव फेला जानकारी गराइएको छ ।
कञ्चनपुरको दोधारा चाँदनीमा ऐतिहासिक वर्षा भएको उल्लेख छ । त्यहाँ जल मापनको ७७ वर्षको इतिहासमा सबैभन्दा धेरै ६२४ मिलिमिटर वर्षा भएको थियो ।
