काठमाडौँ, २९ भदौ : जल तथा मौसम विज्ञान विभागले तीन दिन अघि विशेष बुलेटिन जारी गरी पश्चिम नेपालमा भारी वर्षाको चेतावनी दिएको थियो ।
सोही अनुसार पश्चिम नेपालका कैलाली लगायतका जिल्लाहरुमा नागरिक विस्थापित नै हुने गरी बाढी आयो । जनजीवन अझै प्रभावित भएको छ । यद्यपि आजबाट पश्चिम नेपालमा ठूलो जोखिम हट्दै जाँदा अबको तीन दिन कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही क्षेत्रमा भारी वर्षाको चेतावनी दिइएको छ ।
तर आज हिजोअस्तिको तुलनामा भने वर्षा केही कम भएको पाइएको छ । आज मध्याह्नबाट पश्चिम क्षेत्रमा वर्षा घटेको छ तर आबको तीन दिन कोशी, बागमती र गण्डकी प्रदेशका केही क्षेत्रमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले आज साँझ जारी गरेको बुलेटिन अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखी पूर्णतया बदली भई धेरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भईरहेको र बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही लुम्बिनी प्रदेशको एक–दुई स्थानहरुमा हल्का वर्षा हुने जानकारी दिइएको छ ।
कहाँकहाँ पानी पर्यो ?
आज धेरै स्थानमा सामान्य, मध्यम र केही क्षेत्रमा भारी वर्षा भएको विभागले जनाएको छ । विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ३ घण्टामा कास्कीको लुम्लेमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भई बहने स–साना खोलामा आकस्मिक बाढी र कमजोर तथा भीरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने रहेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
यस्तै आज साँझ ७ बजेको सूचना अनुसार मकवानपुर जिल्लास्थित बागमती राइगाउँ जलमापन केन्द्रमा जलसतह साविकभन्दा १.७ मिटर माथि रहेको र बढ्दो क्रममा रहेकाले उक्त जलाधारको नदी तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
यस्तै आज नवलपरासीपूर्व स्थित दुम्कौली वर्षामापन केन्द्रमा भारी वर्षा भएको छ । सो क्षेत्र भई बहने नारायणी नदी, मुकुन्डे खोला, झरही खोला र अन्य स–साना नदीहरूमा बाढीको जोखिम हुन सक्ने रहेकाले र डुवान हुने होचा स्थानका नागरिकलाई सचेत हुन आह्वान गरिएको छ ।
आज सिन्धुपाल्चोक जिल्लास्थित गुमथाङ वर्षामापन केन्द्रमा मध्यम वर्षा भएको थियो । आजै साँझ चितवन जिल्लास्थित शक्तिखोर, नारायणी फिल्ड अफिस, कल्यानपुर वर्षामापन केन्द्रमा सामान्यदेखि मध्यम वर्षा भएको थियो ।
यस्तै आजै मकवानपुर जिल्लास्थित मकवानपुरगढी, हेटाँैडा, हात्तीसुँडे, बाराजिल्ला स्थित अमलेखगन्जमा पनि वर्षा भएको तथा सर्लाही धनुषा र सिन्धुलीका केही क्षेत्रमा पनि वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।