कालिका : चितवनको कालिका नगरपालिका ७ खोलेसिमल बजारमा मह घर सञ्चालनमा ल्याइएको छ ।
मौरीपालक किसानले उत्पादन गरेको मह बिक्रीवितरणका लागि सहजीकरण गर्न कालिकाका मौरीपालक किसान एवं नेपाल मौरीपालक महासंघका निवर्तमान अध्यक्ष शिवप्रसाद शर्मा पौडेलले मह घर सञ्चालनमा ल्याउनुभएको हो।
शुक्रवार (यही २०८१ भदौ २८ गते) एक समारोहका बीच कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले मह घरको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रमुख रेग्मीले केन्द्र र प्रदेश सरकारले मौरीपालक किसानलाई उपेक्षा गरेको बताउँदै मौरीपालक किसानलाई स्थानीय सरकारले प्राथमिकता दिएर काम गरेको बताउनुभयो। उहाँले माथिल्लो सरकारले सहयोग नगर्दा महले राम्रो बजार नपाएको जिकिर गर्नुभयो ।
महको बजार व्यवस्थापनका लागि आफू मन्त्रीको ढोकासम्म पुगेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा कालिका नगरपालिका वडा नं ६ का वडाध्यक्ष टीकाराम रेग्मीले महको बजार व्यवस्थापनमा स्थानीय सरकारले गर्ने काममा कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
पाैडेलले यहाँ पौडेल बी फार्म तथा मौरी घर सञ्चालनमा ल्याउनुभएको हो । उहाँले आफूले उत्पादन गरेको महलाई ब्रण्डिङ गरी मह घरमार्फत बिक्री सुरु गरिएको जानकारी दिनुभयो ।
मह घर सञ्चालक पौडेलले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ४ लाख र व्यक्तिगत दुई लाख गरी ६ लाखको लगानीमा मह घर सुरू गरेको बताउनुभयो । सरकारकै अनुमतिमा महलाई नाइन नेष्टरको नाममा ब्राण्डिङ गरेको पनि उहाँले जानकारी दिनुभयो।
कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख महेश रेग्मी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मह जोन संयोजक रामप्रसाद पौडेल, कृषि विकास कार्यालय भरतपुरका प्रमुख झलक कँडेल, मौरीपालक किसान रुविन पौडेल, मौरी विकास कार्यक्रम भण्डाराका प्रमुख सुजन अम्गाई, नेपाल मौरीपालक महासंघ बागमती प्रदेश समितिका महासचिव गंगाप्रसाद सापकोटा, खोलेसिमल बजार व्यवस्थापन समितिकी अध्यक्ष सविता वाग्ले, समाजसेवी कमल आचार्यलगायतले बोल्नुभएको थियो ।
