कुमरोज । वन्यजन्तुको बाक्लो उपस्थिति रहेको कुमरोज मध्येवर्ती सामुदायिक वन क्षेत्रबाट आएको वन्यजन्तु वस्तीमा पसेरी हुने मानव र बालीनालीको क्षति रोक्न कुमरोजको जंगल छेउका सडकमा सेन्सर बत्ती जडान गर्न लागिएको छ ।
उक्त विषयमा भाद्र २३ गते सोमबार बुढीराप्ती उपभोक्ता समिति र कुमरोज मध्यवर्ती सामुदायिक वनका पदाधिकारीबीच छलफल भएको छ । सो क्रममा क्षति राहत व्यवस्थापनका विषयमा पनि छलफल भएको थियो ।
बुढीराप्ती उपभोक्ता समितिका अध्यक्ष हिराबहादुर गुरुङका अनुसार सेन्सर बत्ती नहुँदा जंगल छेउमा रहेका वस्ती प्रभावित भएको र वन्यजन्तुको आक्रमणमा समेत पर्न सक्ने भएकाले मानिसहरुको जीउ ज्यान सुरक्षाका लागि बत्ती जडान गर्न लागिएको बताउनुभयो ।
उहाँले बत्तीका कारण जन्यजन्तु परैेबाट देखिने हुँदा उनीहरुबाट बच्न पनि सकिने र वस्तीमा परेको थाहा पाएमा अन्य क्षेत्रमा सूचना दिन र बाली जोगाउन पनि सहज हुने भएकाले बत्तीलाई प्राथमिता दिएर जडान गर्न लागिएको जानकारी दिनुभयो ।
आजको बैठकमा बुढीराप्ती उपभोक्ता समिति र कुमरोज सामुदायिक बनका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
बैठकमा समितिका उपाध्यक्ष पे्रमबहादुर केसीले सेन्सर बत्ती जडानको र क्षति राहत कोष खडा गर्ने विषयमा सकारात्मक छलफल भएको जानकारी गराउँदै क्षति राहतको विषयमा पर्सी बुधबार पुनः बैठक बसेर खाता सञ्चालन गर्ने निर्णय भएको बताउनुभयो ।
सानातिना घटना र क्षतिको विषय र वस्ती क्षेत्रमा निकुञ्जबाट राहत नपाइने भएकाले क्षति राहत उपलब्ध गराउने गरी उपसमिति गठन गरिसकिएको बताउँदै उहाँले तत्काल लागू हुने गरी अघि बढ्ने निर्णय भएको जानकारी दिनुभयो ।
उपाध्यक्ष केसीले थप्नुभयो, “वन्यजन्तुबाट मानव तथा बाली क्षति भएकाले राती बढी जनावरको घुमफिर भएको, जंगलमा घाँस छिप्पिसकेको र झाडीसमेत पलाएकाले जनावरहरु वस्ती पसिरहेका छन् । सबै क्रंक्रिट वाल पनि बनिनसकेकोले क्षति पुग्ने हुँदा बत्तीले मानव बालीको क्षति रोक्न सघाउने छ।”
आजको छलफलमा सहभागीहरुले क्षति राहतको काम ठप्प भएको बताउँदै त्यसलाई तत्काल कार्यान्वयन नगर्ने हो भने वन र उपभोक्ता समिति दुवैलाई नराम्रो असर पर्नेतर्फ ध्यानाकर्षण गराउनुभएको थियो । उक्त छलफलमा बुढीराप्ती उपभोक्ता समितिका अध्यक्ष गुरुङले आफ्नो क्षेत्राधिकार भित्रको काम भने नरोक्ने आश्वासन दिनुभएको छ ।
समितिका सचिव इश्वरी पाठकले बत्ती राख्ने काम आज सम्झौता भएको र समन्वय गरेर केही दिन भित्रैमा काम अघि बढाइने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बत्ती जडानको काम मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा लागि महत्वपूर्ण हो, अब क्षति राहतको काम पनि तत्काल अघि बढाउनुपर्छ, रोकेर राख्दा पीडितलार्ई ठूलो समस्या परिरहेको छ ।”
कुमरोजको घोग्रेलाबाट जंगल सिमान हुँदै हर्नरी पुलसम्म सेन्सर बत्ती राखिने छ । अहिले स्थानीयहरु उक्त सडकमा जोखिम मोलेर यात्रा गरिरहेकामा अब सेन्सर बत्ती राखेपछि सहज आवतजावत गर्न सक्नेछन् । वन्जयन्तुबाट ज्यान जोगाउन पनि बत्तीले सहज पार्ने छ ।
क्षति राहत उपसमितिका संयोजक तथा बुढीराप्ती उपभोक्ता समितिका पूर्वअध्यक्ष नारायणदत्त तिमिल्सिनाले अब कार्यविधि बनाएरै क्षति राहतको काम अघि बढाउने गरी छलफल भएको र उपसमितिमार्फत बनाइने अनुगमन तथा मूल्यांकन समितिको सिफारिसका आधारमा क्षतिको राहत वितरण गर्ने गरी कार्याविधिमार्फत काम अघि बढाउने बताउनुभयो । त्यसका लागि बुधबारलाई पुन बैठक आह्वान गरिएको छ ।
कार्यक्रममा कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेशकुमार श्रेष्ठले मानव वन्यजन्तु द्वन्द्वलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने विषयमा विगत देखिनै कार्य गर्दै आएको र यो सेन्सर बत्तीले थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले बत्ती जडान र त्यसपछिको मर्मतका काम पनि एउटै संस्थाले गर्ने गरी अघि बढेको बताउनुभयो ।
विगतमा कुमरोज वन सुख्खा जस्तै देखिने गरे पनि अहिले भने संरक्षणका गतिविधि तीव्र पारेपछि हराभारा मात्रै भएको छैन वन्यजन्तुहरुको मुख्य वासस्थानका रुपमा विकास भएको छ । जसले पर्यापर्यटनको आकर्षक गन्तव्य बन्न पुगेको छ ।
जसका कारण वन र वन्यजन्तु अवलोकनका लागि यहाँ पर्यटकलाई जीप सफारी, जंगल वाक, हात्ती सफारीलगायतका कार्यक्रम समेत सञ्चालनमा रहेको छ । यो सामुदायिक वन नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहा नजिकै रहेको छ ।
भिडियो हेर्नुहोस्