काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) श्यामलाल ज्ञवालीलाई आज नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबाबीच बिदाई गर्नुभएको छ ।
सो क्रममा प्रहरी महानिरीक्षक कुँवरले सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले संगठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, संगठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारीताका साथ सम्पन्न गरेको उल्लेख गर्नुभयो ।
अपराध न्यूनीकरण तथा अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन, नीति निर्माण, सांगठनिक सुदृढीकरणका साथै संगठनको रणनीतिक कार्ययोजना कार्यान्वयनमा गर्नुभएको अतुलनीय योगदानको उहाँले चर्चा गर्नुभयो ।
प्रहरी महानिरीक्षक कुँवरले सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षकबाट सेवा निवृत्त जीवन पश्चात पनि संगठनको हितको लागि सदैव रचनात्मक सल्लाह, सुझाव एवम् सहकार्य निरन्तर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीलाई मायाको चिनो प्रदान गर्नुभयो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले आफ्नो सेवा अवधिमा गरेका अनुभव सहितको मन्तव्य राख्ने संगठनलाई निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।
प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवाली विसं २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवाली भदौ २६ गते भोलिबाट सेवानिवृत्त हुन लाग्नु भएको हो । उहाँको दर्जागत उमेरहदका कारण निवृत्त हुनलाग्नुभएको हो ।
उहाँले दर्जागत उमेरहद खारेजीको माग गर्दै सर्वाेच्चमा हालेको रिट विचाराधीन रहेको छ । अन्तरिम आदेश माग गरिए पनि हुन नसकेपछि उहाँ दर्जागत उमेर हदका कारण अवकासमा जान लाग्नुभएको हो । उहाँको यो रिट असफल प्रयास बन्यो।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।