काठमाडौँ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी बहिनीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
हरितालिका तीज एक सनातन सांस्कृतिक पर्वको रुपमा नेपाली महिलाहरुले मनाउँदै आएका छन्। यस पर्वमा महिलाहरुले भगवान् शिव पार्वतीको पूजा आराधना गर्दै परिवारको सुख, स्वास्थ्य र दीर्घायुको कामना सहित उपवास बस्नाले मनोकामना पुरा हुने धार्मिक विश्वास रहिआएको छ।
हरितालिका तीजको मौलिकतालाई कायम राख्दै सांस्कृतिक महत्वको जगेर्नामा मद्दत पुग्ने गरी पर्व मनाउन उहाँले सबैलाई आग्ह गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘पछिल्लो समय चाडपर्वका नाममा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै धार्मिक, सांस्कृतिक महत्वमा केन्द्रित हुनुपर्ने आवश्यकता छ। समाजलाई भावनात्मक एकताको शुत्रमा बाध्ने, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्ने, सामाजिक, धार्मिक परम्परालाई दिगो बनाउने गरी तीज मनाउन प्रदेश सरकारको तर्फबाट अपिल गर्दछु।’
उहाँले हरितालिका तीजले समाजमा विद्यमान विभेद र सबै प्रकारका असमानताहरुको अन्त्य गर्दै समतामूलक समाजको निर्माणमा सबैलाई प्रेरित गर्न सकोस भन्ने शुभेच्छा प्रकट गर्नुभएको छ ।
