काठमाडौँ : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मौरीपालक किसानका समस्या, महको बजारीकरण र आयातित महका कारण आन्तरिक उत्पादन खपतमा देखिएको अवरोध हटाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कृषि मन्त्रालयमा आज चितवनको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीसहित मौरीपालक व्यवसायी तथा सरोकारवाला प्रतिनिधिहरुले गरेको भेटमा उहाँले किसानको अहितमा हुने गरी कुनै पनि निर्णय नगरिने विश्वास दिलाउनुभयो ।
“मह नबिकेर थन्किएको बारे मलाई जानकारी भयो, हामी फेरि पनि यस विषयमा सबै निकायलाई बोलाएर बृहत छलफल गर्छौँ”, आजको छलफलमा मन्त्री अधिकारीले भन्नुभयो, “मन्त्रालयगत र सरोकार राख्ने निकायबीचको छलफलले एउटा निष्कर्ष दिन्छ ।”
भेटघाटमा चितवनको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले मन्त्री अधिकारीलाई नेपाली महको बजारिकरण बिना बाहिरी महको आयात नखोल्न अनुरोध गर्दै कालिका व्यवसायिक मौरीपालनका हिसाबले देशकै उत्कृष्ट नगरपालिका रहेको जानाकारी गराउनुभयो ।
उक्त पालिकामा वाषर््िाक ६ करोडभन्दा बढीको मह उत्पादन हुने गरेको जानाकारी दिँदै प्रमुख रेग्मीले उत्पादित महमध्ये ७५ प्रतिशतभन्दा बढी जंगली स्रोतको रहेको बताउनुभयो ।
सो क्रममा नेपाल मौरीपालक महासंघका निवर्तमान अध्यक्ष शिवप्रसाद शर्मा पौडेलले नेपाली महको खपतका लागि उचित व्यवस्थापन नगरेसम्म बाहिरको मह आयात गर्न नहुनेमा ध्यानाकर्षण गराउनुभयो ।
उहाँले यदी ल्याउनै पर्ने अवस्था आएमा भन्सारदर बढाउनुपर्नेमा जोड दिनुभयो । सो क्रममा मौरीपालक किसानका समस्या समेटेर उहाँहरुले मन्त्री अधिकारीलाई धनाकर्षणपत्र समेत बुझाउनुभएको छ ।
मौरीपालक व्यवसायीका अनुसार सरकारले अहिले मह आयात रोकेकाले स्टक रहेको मह बजारमा जाने क्रम बढे पनि अझै २ हजार मेट्रीक टन मह घरघरमै थन्किएर बसेको सो क्रममा जानकारी गराइएको थियो ।
आजको छलफलमा कृषिसचिवसहित नेपाल मौरीपालक महासंघ, नेपाल मौरीपालक केन्द्रीय सहकारी संघ, मह व्यवसायी संघ, डाबर नेपालका प्रतिनिधि तथा मौरी र महसम्बन्धी विभिन्न क्षेत्रमा सरकारी कार्यालयका प्रतिनिधिहरुको सहभागिता थियो ।
