काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाए पनि किन चलिरहेको छैन? यहाँहरुको मनमा पनि यो प्रश्न होला । तर केही शर्तहरु सरकारले राखेकाले अहिले टिकटक नचलेको हो ।
विभिन्न प्रविधि प्रयोग गरेर चलाउनेहरुले त यसअघि पनि चलाइरहेकै छन् तर सामान्य रुपमा चल्न भने अझै केही समय लाग्ने भएको छ ।
बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय त गर्यो तर शर्त राखेर । त्यसैले नचलेको हो ।
यी शर्त पालना गरेपछि मात्रै चल्न थाल्छ टिकटक
टिकटकले सामाजिक सञ्जालको सञ्चालन निर्देशिका, २०८० को दफा ३ अनुसार सामाजिक सञ्जाल सञ्चालनको लागि मन्त्रालयमा सूचिकरण गर्नुपर्ने, सूचिकृत भएको सामाजिक सञ्जालको प्वाइन्ट अफ कन्ट्याक्ट तोक्नुपर्ने शर्त सरकारले अघि सारिएको छ।
साथै सरकारले पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने, डिजिटल सुरक्षा र साक्षरताको लागि काम गर्नुपर्ने, सार्वजनिक शिक्षामा र आइटीबेस बनाउन सहयोग गर्नुपर्ने, कन्टेन बनाउँदा भाषाको फिल्टरिङ गर्नुपर्ने शर्त राखेको छ।
सरकारले राखेका शर्तहरु पूरा गरी दर्ता गरेर आएको दिनदेखि प्रतिबन्ध हटाउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन्।
उनले सामाजिक दुर्भावना, अरुलाई गालीगलौज गर्ने भाषा प्रयोग गर्न नदिने र त्यसमा नियन्त्रण गर्नेगरी समझदारी भएको दिनदेखि प्रतिबन्ध हटाइने बताए।