काठमाडौँ । यसपालिको मनसुनी विपद्मा मृत्यु हुनेको संख्या १९३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा विपद्मा परेर थप ३ जनाको मृत्यु भएसँग मृतक संख्या १९३ पुगेको हो । यसअघि सोमवारसम्म १९० जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले पछिल्लो २४ घण्टामा विभिन्न क्षेत्रमा थप ३ जनाको विपद्मा परेर ज्यान गएसँगै मृत्यु हुने १९३ जना पुगेको जानकारी दिनुभयो ।
अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी यसरी ठूलो संख्यामा मानवीय क्षति भएको उहाँले बताउनुभयो ।
प्राप्त विवरण अनुसार यो सँगै काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३४ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३७ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १५ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म २४१ जना घाइते भएका छन् भने कोशी प्रदेशमा २ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ४९ जना वेपत्ता भएका छन् ।
बाढीका कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका, ३ सय ३३ वटा घर, १ सय १६ वटा गोठ, ५१ वटा पुल, ४ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको जनाइएको छ । झण्डै ५ हजार परिवार विस्थापित भएका छन् ।