काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा शुक्रवार अचानक आएको बाढीको कारण अवस्था अध्ययन गर्न विज्ञसहितको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।
रक्षामन्त्री मानवीर राईको नेतृत्वमा विज्ञसहितको टोली त्यसतर्फ प्रस्थान गरिसकेको राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो ।
मुख्यगरी के कारणले त्यहाँ बाढी आएको हो भनेर अनुमान बाहेकका जानकारी नआएकाले त्यसको प्रारम्भिक अवस्था अध्ययन गरिने उहाँले राससलाई बताउनुभयो ।
रक्षामन्त्री राई नेतृत्वको टोलीमा पोखरेलसहित गृह मन्त्रालयका द्वन्द्व तथा विपद व्यवस्थापन महाशाखा प्रमुख भीष्मकुमार भूषाल, प्राविधिक, विज्ञ तथा त्यस क्षेत्रका सांसदहरु सहभागी हुनुहुन्छ । उहाँहरुले हवाईमार्गबाट बाढी प्रभावित क्षेत्र र सकेसम्म त्यसको शिरसम्मै अवलोकन गरेर अवस्था अध्ययन गर्ने पोखरेलले बताउनुभयो ।
प्रारम्भिक अनुमान अनुसार उक्त खोलाको शिरमा हिमपोखरी फुटेर बाढी आएको बताइएको छ । नेपाली सेनाका सूचना अधिकारी, सहायक रथि गौरवकुमार केसीले रक्षा मन्त्रीसहितको टोली विहान ७ ः ३० बजे नै बाढीग्रस्त क्षेत्रको अवलोकन तथा प्रारम्भिक अध्ययनका लागि काठमाडौँबाट सेनाको हेलिकप्टरमा प्रस्थान गर्नुभएको जानकारी दिनुभयो ।
सो क्षेत्रमा बाढीका कारण १४० जना विस्थापित भएकालाई सुरक्षित स्थानमा सारिएको छ । २० वटा घर÷होटल बगाएको तथा विद्यालय, होस्टेलसहितका ३ भवन, स्वास्थ्य क्लीनिकलगायतमा ठूलो क्षति भएको तथा एक जना सम्पर्कविहीन रहेका सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभएको छ ।
हिजो राति प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँलाई टेलिफोन गरेर मानिसको ज्यान जोगाउने कुरालाई प्राथमिकता दिएर लाग्न निर्देशन समेत दिनुभएको थियो ।