काठमाडौँ । नेपालमा मनसुनपछिको पछिल्लो ६० दिनको अवस्था प्रतिवेदन आज सार्वजनिक गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष दोब्बर बढी मानवीय क्षति भएको छ ।
गएको जेठ २८ देखि साउन २४ सम्मको ६० दिनमा मनसुनजन्य विपद्मा १७० जनाको मृत्यु, ४४ जना बेपत्ता र १९५ जना घाइते भएको प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
गत वर्षको सोही अवधिमा ७२ जनाको मृत्यु, २८ जना बेपत्ता, १०० जना घाइते भएका प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिनुभयो ।
प्रभावित परिवार भने गत वर्ष भन्दा यसवर्ष कम भएका पाइएको छ । गत वर्ष विपद् प्रभावित परिवार ५ हजार ७८१ रहेकामा यसवर्षको मनसुनजन्य विपद्बाट प्रभावित परिवारको संख्या २ हजार ९९८ रहेको पनि प्राधिकरणले जनाएको छ ।
मनसुनजन्य विपद्ले सबैभन्दा धेरै गण्डकी प्रदेशमा ५४ जनाको मृत्यु र सबैभन्दा कम मधेस प्रदेशमा तीन जनाको मृत्यु भएको पनि प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
असार २८ गते चितवनको भरतपुर महानगरपालिकाको सिमलतालमा गेग्रयान बहाबमा परी दुई बसका ६२ जना यात्रु त्रिसुली नदीमा बेपत्ता भएकामा २४ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ ।
यस्तै कञ्चनपुरको चाँदनी दोधारामा ऐतिहासिक वर्षा भई जल मापनको ७७ वर्षको इतिहासमा सबैभन्दा धेरै ६२४ मिलिमिटर वर्षा भएको पनि जनाइएको छ ।
पूर्वतयारी, खोज उद्धार तथा सूचना प्रवाहमा समन्वयात्मक रुपमा काम भएको प्राधिकरणका कर्याकारी प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो । यसवर्ष औषत भन्दा बढी पर्ने आँकलन अनुसार नै वर्ष भएको पनि प्रतिवेदनमा उल्लेख छ ।