काठमाडौँ । पश्चिम नेपालको कञ्चनपुरमा ‘रेकर्ड ब्रेक’ भएको वर्षाको तथ्यांक दुई वटा मापन केन्द्रमा सत्य प्रमाणित भएको छ भने एउटाले वर्षा भएको भन्दा कम मापन गरेको पाइएको छ ।
जल तथा मौसम विज्ञान विभागले गरेको अध्ययनमा कञ्चनपुरको दोधारा, हनुमाननगर र सुन्दरपुरमा जडित स्वचालित वर्षा मापन उपकरणहरुको स्थलगत परीक्षण गर्दा दोधारा र हनुमाननगर हावापानी केन्द्रमा जडित उपकरणको कार्य अवस्था विभागको हालको मापदण्ड भित्रै रहेको पाइएको विभागका प्रवक्ता सुनिल पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त केन्द्रबाट प्राप्त तथ्याङ्क सही रहेको तर सुन्दरपुर केन्द्रमा जडित उपकरणबाट हाल प्राप्त भएको तथ्यांक विभागको मापदण्डभन्दा केही फरक देखिएकाले थप अध्ययन गर्नुपर्ने निष्कर्ष निकालिएको छ ।
अध्ययन प्रतिवेदनले उक्त केन्द्रमा वास्तविक वर्षा भएकोभन्दा कम मापन गरेको देखाएको जानकारी दिँदै प्रवक्ता पोखरेलले त्यो रेकर्डले पनि बढी नै वर्षा भएको देखाएको जानकारी दिनुभयो ।
विभागका अनुसार गत असार २३ गते राती एक घण्टाको अवधिमा हनुमान नगरमा मात्रै १०२ मिलिमिटर वर्षा मापन भएको पाइएको छ ।
कञ्चनपुरको दोधारा, हनुमाननगर र सुन्दरपुर क्षेत्रमा गएको असार २३ र २४ गते परेको मुसलधारे वर्षाले ७८ वर्षकै रेकर्ड ब्रेक गरेको थियो । त्यहाँ विभागले स्वचालित वर्षा मापन केन्द्र स्थापना गरेको छ।
सो क्षेत्रमा विसं मापन शुरु भएको २००३ सालयताकै बढी वर्षा मापन भएको थियो । विभागबाट प्राप्त विवरण अनुसार दोधारामा ६२४ मिलिमिटर, हनुमाननगरमा ५७३.६ मिलिमिटर तथा सुन्दरपुरमा ५५५.८ मिलिमिटर वर्षा मापन गरिएको थियो।
उक्त क्षेत्रमा सतही, मध्य र उपल्लो वायुमण्डलमा मनसुनी र पश्चिमीवायुमा विकास भएको न्यूनचापीय प्रणालीहरुको समिश्रणका कारण अत्याधिक वर्षा भएको अध्ययनको निष्कर्ष छ । यी प्रणालीहरुको समिश्रणको प्रक्रिया तथा वर्षाको परिमाणको आधारमा उक्त मौसमी घटनालाई ‘तराई क्लाउडबष्र्ट’ मान्न सकिने विभागले जानकारी दिएको छ ।
त्यहाँको सर्वाधिक वर्षाका कारण कञ्चनपुर जिल्लाका समथर भू–भागहरु डुबानमा परेको तथा विभिन्न नदीनालाहरूमा बाढीसमेत आइ क्षति भएको थियो । साउन २५ गते विहानको स्याटलाइट तस्वीरको विश्लेषण गर्दा कञ्चनपुर जिल्लाको करिब ९८ वर्ग किलोमिटर क्षेत्रफल भू–भाग डुबानमा परेको देखिएको छ । जसमध्ये करिब ८५ वर्ग किमी कृषियोग्य भू–भाग रहेको तथा स–साना संरचनाहरू समेत गरी करिब १४ हजार भवनहरु प्रभावित भएको अध्ययनटो लीले जनाएको छ।
नेपालमा हालसम्म मापन गरिएको सर्वाधिक वर्षाको घटनामा तुलनात्मकरुपमा कम क्षति भएको विवरणहरु स्थलगत भ्रमणका क्रममा गरिएका अन्तरक्रिया तथा अन्य स्रोतबाट प्राप्त भएको छ ।
यसरी क्षति न्यूनीकरण हुनुमा विभागबाट समयमै प्रवाह गरिएको विशेष बुलेटिनहरु, प्रभावमा आधारित मौसम पूर्वानुमान, मास एसएसएस सेवा तथा सो अनुरुप पर्याप्त पूर्वतयारी र पूर्वकार्य एवं प्रभावकारी खोज तथा उद्धार कार्यको प्रमुख भूमिका रहेको निष्कर्ष निकालिएको छ ।
जलवायु परिवर्तनका कारण यस्ता विषम जल तथा मौसमी घटनाहरु वढ्दै जाने हुँदा विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वानुमान तथा पूर्वतयारी लगायतका उपरोक्त क्षेत्रहरुमा लगानी बढाउदै जानु आवश्यक देखिएको अध्ययन टोलीको निष्कर्ष रहेको विभागले जनाएको छ।
