काठमाडौँ : प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले देशभरका कर्मचारीहरुलाई भर्चुअलका माध्यामबाट निर्देशन दिँदै प्रहरी सेवाको गुणस्तर सुधार गर्न भनेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा कर्मचारीहरूलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक कुँवरले मनसुनजन्य तथा अन्य प्राकृतिक प्रकोपका घटनाको उद्धारलाई थप प्रभावकारी बनाउनका लागि तयारी अवस्थामा रहन पनि निर्देशन दिनुभएको छ ।
सडक दुर्घटना न्यूनीकरण तथा जनचेतना फैलाउन विभिन्न सरोकारवाला निकाय, स्थानीय तह तथा नागरिक समाजसँग समन्वय गरेर प्रभावकारी ढंगले परिचालन हुन र मातहतलाई परिचालन गराउन सक्रियता बढाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले लागूऔषधको बढ्दो ओसारपसार र प्रयोग नियन्त्रण, सीमावर्ती अपराध नियन्त्रण, तस्करी नियन्त्रण, राजस्व चुहावट नियन्त्रण, बैंकिङ कसुर लगायतका आर्थिक अपराधहरूको नियन्त्रण गर्न उपलव्ध साधनस्रोतको अधिकतम प्रयोग गरी सकारात्मक नतिजा आउने गरी काम गर्न पनि आग्रह गर्नुभयो ।
अपराध अनुसन्धानको क्रममा घटनाको गहनता बुझेर प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने अपराधमा विशेष संवेदनशील भई कार्य गर्न पनि उहाँले निर्देशन दिनुभएको छ ।
कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालयहरू, प्रदेश तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालयहरू, जिल्ला प्रहरी परिसरहरू, जिल्ला प्रहरी कार्यालयहरू, विभिन्न गणका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।
