काठमाडौँ । गएराती ११ बजेपछि भारी वर्षाका कारण आएको बाढी तथा डुवानले काठमाडौँ उपत्यकाको जनजीवन प्रभावित भएको छ ।
रातभर नै प्रहरी परिचालन गरी मानिसको उद्धार गरिएको काठमाडौँ प्रहरीले जनाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार राति उपत्यका भएर बग्ने अधिकांश नदी सतर्कता तह र खतराको तह पार गरेको थियो । त्यसपछि ठाउँठाउँबाट प्रहरी टोली परिचालन गरी उद्धार कार्य गरिएको हो ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार उपत्यकाका जिल्लाबाट ३६ जनाको उद्धार गरिएको छ । कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार बाढी र डुवानमा परेका काठमाडौँबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ ।
उहाँका अनुसार काठमाडौँको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एक जनाको उद्धार गरिएको हो ।
काठमाडौँको बल्खु, तरकारी बजार, बाफल, धोविखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा पनि डुवान भएको थियो । यस्तै काठमाडौको फुटुङको नागपोखरीमा पहिरो जाँदा एक घरमा क्षति पुगेको छ । नयाँ बसपार्क, मितेरी पुल क्षेत्र पनि डुवानमा परेको छ ।
यस्तै काठमाडौँ महानगरपालिका–३२ स्थित मनोहरा खोलामा पानीको बहाव अत्यधिक मात्रामा वृद्धि भई सो खोलाको किनारमा अवस्थित प्रहरी विट र झोलुङगे पुलको पक्की भवन भित्र पानी पसेपछि तत्काल उक्त भवनभित्र रहेका भौतिक सामानहरु निकालिएको छ ।
प्रहरीका अनुसार ललितपुरबाट बाढी र डुवानबाट प्रभावित २४ जनाको उद्धार गरिएको छ ।
ललितपुरको युएन पार्क क्षेत्रबाट डुवान प्रभावित २ जना, ललितपुरको सुन्दरीघाटबाट ८ जना, बालकुमारी पुलमुनीबाट १ जना, ललितपुरको महालक्ष्मी नगरपालिका–८ चागाथलीबाट ७ जना र ललितपुरको महालक्ष्मी नगरपालिका राममन्दिरबाट ६ जना मानिस र ८ पशुचौपायको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
ललितपुरको युएन पार्क क्षेत्रको करिडोर, च्यासल, चाँगाथली, बाँडेगाउँ, गोदावरी खोला कोरिडोर क्षेत्र पनि डुवानमा भएको प्रहरीले जनाएको छ । रात भरी नै सुरक्षाकर्मी परिचालन गरी आवश्यक उद्धार कार्य गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।