नारायण ढुङ्गाना,
काठमाडौँ : नेपालमा पछिल्ला समयमा आपराधिक क्रियाकलाप बढिरहेको छ । प्रहरीको तथ्यांक केलाउने हो भने प्रविधिको विकाससँगै आपराधिक क्रियाकलापमा पनि बढोत्तरी आइरहेको छ ।
जसमा साइबर अपराध बढ्दो क्रममा छ । परम्परागत रुपमा हुने अपराध पनि भइरहेकै देखिएको छ । प्रहरीको तथ्यांकमा गएको आर्थिक वर्षमा ५९ हजार बढी अपराधका घटना भए ।
त्यसको अघिल्लो वर्ष ५६ हजार अपराधका घटना दर्ता भएको थियो । अपराध बढेसँगै चुनौती पनि बढेको नेपाल प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्की साइबर तथा बैंकिङ अपराधहरु बढ्दो क्रममा रहेको बताउनुहुन्छ । सोही अनुसार प्रहरीले आफ्नो अनुसन्धान पद्दतीलाई पनि विकास गरिरहेको छ ।
कतिपय अनुसन्धानमा सफलता नपाए पनि धेरै अनुसन्धान सफल भएका प्रहरीको दावी छ । निर्मला पन्तको बलात्कार पछि हत्यालगायतका घटनाको अनुसन्धानमा प्रहरी चुकिरहेको छ तर त्यस्तै प्रकृतिका र अन्य ठूला अपराधमा भने प्रहरीले सफलता पनि पाइरहेको छ ।
गएको एक वर्षमा प्रहरीले केही ठूला आपराधिक घटनाको अनुसन्धानमा सफलता प्रााप्त गरेको छ । यी ९ घटना जसमा प्रहरीलाई सफलता मिलेको छ।
तीनकुने सामूहिक हत्या प्रकरण
घटना विसं २०८० भदौँ २९ गते को हो । काठमाडौँको तीनकुनेस्थित दिव्य स–मिलमा रातिको समयमा धारिलो हतियार प्रहार गरी ४ जनाको हत्या भएको घटनाको प्रहरीले छोटो समयमै सफल अनुसन्धान गरेको थियो ।
त्यहाँ दोलखा कालिन्चोक गाउँपालिका ८ घर भई सोही स–मिलमा काम गर्ने कुमार भुजेल भन्ने पूर्ण्बहादुर भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, पूर्णबहादुर भुजेलकी आमा सुभद्रा भुजेल र सोही मिलमा बस्ने नविन भन्ने विशाल राईको हत्या भएको थियो ।
अनुसन्धानका क्रममा उक्त घटना सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका ९ घर भई हाल काठमाडौँको काँडाघारी बस्ने वर्ष २३ का संजय भण्डारीले गरााएको खुल्यो । मोटरसाइकलले ठक्कर दिएको र त्यस विषयमा उत्पन्न विवादको रिसिइबीले घटना भएको पाइएको प्रहरीले जनाएको छ ।
सञ्जय भण्डारीले मोटरसाइकल ठोक्किएको विवादमा मोरङका विशाल राईको हत्या गरेको र उक्त घटना देखेपछि घटना बाहिर जाने डरले अरुको पनि हत्या गरेको स्वीकारेका प्रहरीको अनुसन्धान टोलीजे जानकारी दिएको छ ।
किशोरी हत्या गरी शिवपुरी जंगलमा गाडेको घटना
घटना विसं २०८० माघ २२ गतेको हो । उक्त दिन अन्दाजी ५ बजेको समयमा तारेभिरस्थितमा सुष्मा लामाको शव गाडेको अवस्थामा भेटियो ।
उक्त घटनाको अनुसन्धानमा प्रहरी टोली खटियो । अनुसन्धानका क्रममा उनलाई आफ्नै प्रेमीले प्रेम प्रस्ताव अस्वीकार गर्दा पूर्वयोजना अनुसार नै हत्या गरेर खाल्डो खनी गाडेको खुल्यो ।
प्रहरी प्रवक्ता कार्कीले प्रतिवादी रूपेन्द्र लामाले मन पराई प्रेम प्रस्ताव राख्दा अस्वीकार गरेकाले उनले पूर्वयोजना बनाई हत्या गरेर घर नजिकै शिवपुरी राष्ट्रिय निकुञ्जमा लगि खाल्टो खनी गाडेको पत्ता लागेको जानकारी दिनुभयो । उनलाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।
महोत्तरी बैंक लुटपाट
विसं २०८० जेठ १६ गते अन्दाजी १२ः२५ बजेको समयमा महोत्तरीमा रहेको एनएमबि बैंकमा अपरिचित नकाबधारी ४÷५ जनाको हतियारधारी समूहले बैंक लुटपाट गर्यो ।
उनीहरु बैकमा प्रवेश गरी बैकका कर्मचारी तथा सेवाग्राही समेतलाई पेस्तोल देखाई बैकबाट तत्काल १५ लाख भन्दा बढी रकम लुटेर लगे । उनीहरुले बैंकका कर्मचारीको मोबाइलसमेत लुटी डाँका गरी नम्बर नखुलेको २ वटा मोटरसाइकलमा चढेर भागेका थिए ।
घटनाको अनुसन्धानका क्रममा उक्त घटनामा भारतीय नागरिक अजय कुमार, धनुषा मुजर्नीया मूखियापट्टी–२ बस्ने वर्ष २२ को अनर्जीत राम र अर्का एकजना संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।
आमाछोरीको आगो लगाएर हत्या
सल्यानमा विसं २०८० भदौ ५ गते ०६ः५० बजेको समयमा एउटा घरमा मान्छेहरु सुतिरहेका बेला जलेको अवस्थामा मानिस मृत भेटिए ।
टिनले छाएको एक तले कच्ची घरमा पीडितहरू मानिसहरु बिहानसम्म पनि नउठेपछि स्थानीय छिमेकीले ढोका खोली हेर्दा कोठा भित्र आगलागी भई जली मृत अवस्थामा उनीहरु फेला परेका थिए ।
सल्यानको त्रिवेणी गाउँपालिका २ झालेढुङ्गा बस्ने २९ वर्षकी रेवती थापा र उनकी ९ महिलनाकी छोरी छोरी ऋतु थापाको आगो लगाएर हत्या गरिएको थियो ।
उक्त घटनाको अनुसन्धानको क्रममा प्रतिवादीले प्रेम सम्बन्धका कारण आगो लगाई आमा छोरीको हत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा सल्यानको सिद्धकुमाख गाउँपालिका २ खानीगाँउ बस्ने २८ वर्षका कर्णबहादुर बस्नेत र वर्ष २८ कि गीता कार्कीलाई पक्रउ गरिएको प्रहरीले जनाएको छ ।
परिवारको सामुहिक हत्या
मुगुमा विसं २०८० कार्तिकमा आफ्नै घरमा धारिलो हतियार प्रहार गरी कर्तव्य गरी मारेको अवस्थामा परिवारकै हत्या भएको थियो ।
प्रहरीका अनुसार मुगु छायाँनाथ रारा नगरपालिका ६ का मुन्दुगाउँ बस्ने श्रीदेवी बोहोरा, उनका नाबालक छोराहरू मनोज बोहोरा र रहर बोहोरा तथा नाबालिका छोरी अप्सरा बोहोराको हत्या भएको थियो ।
त्यस घटनामा छायानाथ रारा नगरपालिका ६ कोटिला बस्ने वर्ष ३० को गोपाल बोहोरा र वडा नं. ०७ पिना बस्ने वर्ष ३० को गोर्खराज शाही संलग्न रहेको पाइएको थियो ।
उक्त घटनाको पनि प्रहरीबाट सफल अनुसन्धान गरी उनीहरुलाई पक्रउ पश्चात कानुनी कारबाही भइरहेको जनाइएको छ । पैसा र सम्पत्तिका कारण हत्या गरेको खुल्न आएको छ । हत्या गर्ने एक जना आफन्त नै रहेका प्रहरीले जनाएको छ ।
दम्पती हत्या प्रकरण
पर्वतमा २०८० चैत २० गते जलजला गाउँपालिका २ राममन्दिर बस्ने श्रीमान र श्रीमती ढुङ्गा माटोले बनेको आफ्नै घरमा बसिरहेकाबेला हत्या भएको थियो ।
पर्वत जलजला गाउँपालिका २ राममन्दिर बस्ने वर्ष ६९ को सुर्यबहादुर घर्ती र श्रीमती वर्ष ६७ की कमला घर्ती मृत भेटिएका हुन् । दुई तले पक्की घरको भुई तलाको आफू सुत्ने कोठाभित्र रगताम्मे अवस्थामा मृत भेटिएका थिए। उक्त घटनाको पनि सफल अनुसन्धान गरी प्रहरीले प्रतिवादी पक्राउ गरेको छ ।
घटनामा पर्वतको जलजला गाउँपालिका २ बस्ने वर्ष ३२ को कृष्णबहादुर विश्वकर्मा र कुश्मा नगरपालिका २ खुर्कोट स्थाई घर भई कास्की बस्ने दीपक दर्जी संलग्न रहेको पाइएको हो । उनीहरुले सम्पत्ति लुट्ने उद्देश्यले हत्या गरेका पाइएको छ ।
बोरामा २ जनाको शव फेला
विसं २०८० मंसिर ६ गते १२ ः ५० बजेको समयमा चितवनको भरतपुर महानगरपालिका १२ मिलनचोकमा दुई शव बोरामा बाँधेर फ्याँकीएको अवस्थामा फेला पर्यो ।
सडक कल्भर्ट मुनी २ वटा जुटको बोरामा १ पुरुष र १ महिलाको शव फेला परेको थियो । भारत मोतिहारीका १९ वर्षीय ऋषभकुमार कुशवाहा र सोही ठाउँका अस्मिता भन्ने सन्जु देवीको शव भएको प्रहरीले पुष्टी गर्यो ।
उनीहरूको हत्या अस्मिताका पति ३३ वर्षीय अखिलेश भगतले गरेको सिआइबीको अनुसन्धानले पत्ता लागेको थियो ।
अखिलेष भगत हाल भारतस्थित कारागारमा अपहरण मुद्दामा सजाय काटिरहेका पनि खुलेको छ । विवाहपछि भतिजसँगको सम्बन्धका कारण उनले आफ्नै श्रीमती र भतिजको हत्या गरेका थिए ।
बिनोद सुनचाँदी पसल चोरी प्रकरण
चितवनको कालिका नगरपालिका खोलेसिममा रहेको विनोद सुनचाँदी पसलमा गएको असार १ गते चोरी भयो । सिसी टिभी फुटेजमा दुई जनाले झोला भरी राखेर मोटरसाइकलमा सुन लगेको देखिन्थ्यो ।
उक्त घटनापछि प्रहरीले अनुसन्धान थाल्यो । घटनामा पसल सञ्चालक विनोद सुनुवार आफैँले योजना बनाएर बीमा दावीका लागि सुन चोरी गर्न लगाएको पाइएको केन्द्रीय प्रहरी प्रवक्ता कार्कीले बताउनुभयो ।
उक्त घटनापछि उनले उनले २ करोड ५५ लाखको बीमा दावी गरेका थिए। उनले आफ्ना चिनेजानेका र काम गर्ने कर्मचारी प्रयोग गरेर चोरी गर्न लगाएको पाइएको छ । प्रहरीले सञ्चालकसहित ५ जनालाई पक्राउ गरी कारबाही अघि बढेको जनाएको छ ।
बलात्कारपछि हत्या
गत वर्षको मंसिरमा धनुषामा भएको बालिकामाथिको बलात्कार पछिको हत्या घटनामा पनि प्रहरीले सफल अनुसन्धान गरेको छ । अनुसन्धानमा उनीहरुले बलात्कार गरी घाँटी थिचेर हत्या गरेर पोखरीमा लगेर फालेको खुल्यो ।
उक्त अनुसन्धानका क्रममा प्रहरीले धनुषा सबैला नगरपालिकाका ३१ वर्षीय बिनोदकुमार राय र कमला नगरपालिका ६ बस्ने वर्ष २४ को रोशनकुमार मुखियालाई पक्राउ गर्न सफल भएको थियो ।