काठमाडौँ : चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिङ्ग सडकखण्डको सिमलतालमा पहिरोसँगै बगेर त्रिशुली नदीमा खसेका दुईवटा बस तथा यात्रुको आज ११औँ दिन पनि खोजी कार्य तीव्र पारिएको छ ।
गृहको राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले छिमेकी राष्ट्र भारतको राष्ट्रिय आपदा मोचन बल (नेशनल डिजास्टर रेष्पोन्स फोर्स) बाट १२ जनाको एक प्राविधिक टोली नेपाल आएर संयुक्त रुपमा उद्धार जारी रहेको जानकारी दिएको छ ।
प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले शनिवार चितवनका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समिति र भारतीय प्राविधिक टोलीबीच संयुक्त बैठक बसी आइतबार बिहानबाट खोजी कार्य सुरु भएको जानकारी दिनुभयो
आइतबार विहान ८ : ४५ बजेदेखि सोनार क्यामरासहित खोजी कार्य थालेको संयुक्त टोलीले सिमलतालदेखि घुमाउनेसम्म करिब ३.५ किलोमिटर र देवघाटदेखि काभ्रेघाटसम्म करिब १० किलोमिटर क्षेत्रमा खोजी कार्य गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार टोलीले आज साँझसम्म घुमाउनेदेखि देवघाटसम्म करिब १६ किलोमिटर क्षेत्रमा खोजी गरेपछि सफलता प्राप्त भएन।
प्राधिकरणले आज एक विज्ञप्ति जारी गरी विपद्को यस्तो विषम अवस्थामा दक्ष प्राविधिकको टोली पठाई खोजी कार्यमा सहयोग उपलब्ध गराएकोमा भारत सरकार र खोजी कार्यमा संलग्न उद्धारकर्ताप्रति धन्यवाद दिएको छ ।
उक्त दुःखद् घटनामा परी हराइरहेका यात्रुमध्ये हालसम्म २५ वटा शव प्राप्त भएको छ । भेटिएका शवमध्ये दुईवटा भारतीय भूमिमा भेटिएका हुन् । हालसम्म १८ वटा शव सनाखत भइ परिवारको जिम्मा लगाइएको छ ।
सनाखत भएका शवमा १६ वटा पुरुषको छ भने २ वटा महिलाको छ । त्यस्तै, सनाखत भएका शवमध्ये १३ नेपाली नागरिकका छन् भने ५ वटा भारतीय नागरिकका रहेका प्राधिकरणले जानकारी दिएको छ ।
