काठमाडौँ । यो वर्षको मनसुन अवधिका विपत्तिमा परेर आजसम्म १२८ जनाको मृत्यु भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार मनसुन सुरु भएको दिन गएको जेठ २८ गतेदेखि आजसम्म ४२ दिनको अवधिमा अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी शनिवार दिउँसोसम्म १२८ जनाको मृत्यु र १४३ जना घाइते भएका छन् ।
प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २२ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ९ जनाको ज्यान गएको छ ।
बाढीको कारण जम्मा १८२ घर डुबानमा परेका तथा २२८ वटा घर, ८३ वटा गोठ, ४३ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।
५ सय ८९ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ३ हजार ७७९ घर परिवार विस्थापित भएका छन् ।