काठमाडौँ : जनचेतनासहितका कार्यक्रम तथा सुरक्ष जाँच अभियानलगायतबाट काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउँदा सडक दुर्घटनामा कमी ल्याउन सकिएको ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्र्रहरीले कार्यालयले विभिन्न अभियान एवं जनचेतना अभिवृद्धिका कार्यक्रमहरुले सडक दुर्घटनामा कमी आएको जानकारी गराएको हो ।
गत वर्षको तुलनामा जनचेतनामुलक कार्यक्रमको प्रभाव र ट्राफिक प्रहरीको सक्रियताले सडक दुर्घटनामा उल्लेख्य कमी आएको तथ्यांकमा देखिएको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।
गत आव ०८९/८० मा भएका १०, ६७५ सडक दुर्घटनामा परी १८७ जनाले ज्यान गुमाएकामा आव ०८०/८१ मा ८ हजार ८८१ सवारी दुर्घटना १७६ जनाको मृत्यू भएको हो । जुन गत वर्षको तुलनामा दुर्घटना १६.८ प्रतिशत कमी हो भने मृत्यु ६ प्रतिशत कमी भएको खड्काले बताउनुभयो ।
ट्राफिक व्यवस्थापन सुधारलाई अझै प्रभावकारी बनाउन र निरन्तरता दिन योजनाबद्ध तरिकाले लाग्ने तयारी भैरहेको उहाँले बताउनुभयो । जनचेतनामुलक कार्यक्रमहरुले आमसडक प्रयोगकर्ताहरुलाई ट्राफिक नियमहरुको पालना गर्न र सडक सुरक्षालाई आत्मसाथ गर्न प्रेरणा दिएको पनि उहाँले बताउनुभयो ।
पछिल्लो समय ट्राफिक प्रहरीले सचेतनामुलक अभिवृद्धि कार्यक्रमलाई विशेष महत्व दिई सञ्चालन गर्दै आएको छ । विशेष गरी स्कूल कलेज केन्द्रित ट्राफिक नियम सम्बन्धी प्रशिक्षण, चालक सह–चालक केन्द्रित ट्राफिक सचेतना कार्यक्रम र सडक प्रयोगकर्ताहरुलाई सडक सुरक्षा कार्यक्रमहरु व्यापक रुपमा गर्दै आएकोछ ।
ट्राफिक सप्ताह कार्यक्रम, यात्रुमैत्री विशेष अभियान, ट्राफिक सचेतना विशेष अभियान जस्ता कार्यक्रमहरुमा समावेश भएका ट्राफिक गतिविधिहरुमार्फत ४, लाख ७७ हजार ३०३ जना प्रत्यक्ष लाभान्वित भएका प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीले चालकको मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाउनेविरुद्धको अभियान, लेन अनुशासन पालना, लापरबाहीका साथ सवारी चलाउने र तीव्रगतिका कारणले हुने दुर्घटना न्यूनिकरणमा अभियान प्भावकारी भएको दावी गरिएको छ।
विभिन्न सडक केन्द्रित सचेतना कार्यक्रम सञ्चालन, ट्राफिक सुरक्षा जाँच चौकी विस्तार, भित्री गल्ली साँघुरा सडक र करिडोर सडकमा नियमित गस्ती गर्ने गरेका कारण अपेक्षाकृत उपलब्धिसमेत हासिल गरेको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले बताउनु भयो ।
उहाँका अनुसार ट्राफिक नियम उल्लंघन गर्ने १० लाख बढीलाई ट्राफिक प्रहरीले कारबाही गरी जरिवाना बापत ७२ करोड ६० लाख संकलन भएको छ ।