काठमाडौँ : चट्याङ मास्टर अर्थात हास्यव्यंग्यकार कृष्णमुरारी गौतमले चटयाङबाट जोगिने उपायबारे सर्वसाधारणलाई जानकारी गराउनुभएको छ ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको सहकार्यमा आम नागरिकलाई सचेत बनाउने कार्यमा सरिक हुँदै उहाँले चट्याङबाट जोगिने उपाय हँस्याइलो पारामा अभिव्यक्त गर्नु भएको हो ।
प्राधिकरणले विपत्बारे चासो राखौँ, चनाखो बनौँ शीर्षकको सचेतनामुलक भिडियो सन्देश दिने क्रममा चट्याङ मास्टर गौतमले चट्याङ पर्ने मौसम र त्यसबाट आफू र आफ्नो परिवार तथा समुदायको जीउधन जोगाउने उपायलाई कवितामार्फत प्रस्तुत गर्नु भएको छ ।
“नमस्ते म चट्याङ मास्टर,आज अरु के कुरा गर्ने, चट्याङकै कुरा गरौँ,” उहाँ सन्देश दिने क्रममा कवितात्मक भावमा भन्नुहुन्छ ।
आकाशमा कालो बादल गड्याङगुडुङ गर्दा
चम्किएर बिजुलीले आँखा तिरिमिरि पार्छ
असिना र पानी अनि चट्याङ पर्न सक्छ
त्यस्तो बेला घरभित्र पसिहाल्नु पर्छ
रुखमुनी बस्नै हुन्न, बरु ओढारभित्र हुन्छ
घरमा अर्थिङं गर्या भए त्यसले रक्षा गर्छ
घरमै चट्याङ परिहाले अर्थिङले थाम्छ
चट्याङ फाल्छ जमिनमुनी हाम्लाई बचाउँछ
बिजुली र बिजुलीका सामान निभाउनु
टेलिफोन र मोबाइल पनि नचलाउनु
फलामका रेलिङ भर्याङ धातु नछोइदिनु
त्यस्तो बेला धारा खोली पानी नचलाउनु
खडेरीमा चट्याङ परे आगो लाग्न सक्छ
लाग्न सक्छ डढेलो, वस्ती जल्न सक्छ
वनै नजिक गाउँकैबिच पोखरी बनाए्
निभाउन चाँडै हुन्छ छिमेकी बोलाए ।
यसरी चट्याङ पर्दा आइपर्ने दुर्घटना र तिनबाट जोगिनका लागि उहाँको सन्देशले सघाएको छ । बालबालिका, वृद्धवृद्धा र युवा पुस्तालाईसमेत मनपर्ने भावमा चट्याङ मास्टरले सुनाउनु भएको चट्याङ कविता यतिबेला प्राधिकरणको फेसबुक पेजमा भाइरल बनेको छ । जुन यो लिंकमा गएर हेर्न सकिन्छ ।
https://www.facebook.com/NDRRMA/videos/520490813634265
यस्तैयस्तै समाजका प्रतिष्ठित व्यक्तिहरुमार्फत सन्देश प्रवाह हुँदा प्रभावकारी हुने भएकाले यो अभ्यास प्राधिकरणले गरिरहेको प्रवक्ता एवं उपसचिव डा. डिजन भट्टराईले बताउनुभयो । उक्त अभ्यासमा कलाकार, विज्ञ तथा विभिन्न क्षेत्रमा विशेष व्यक्तिहरुलाई सहभागी गराउने गरिएको छ ।
मनसुन सक्रिय रहेको यो समय आकाशमा कालो बादलको घम्साघम्सी पनि ज्यादै हुन्छ । त्यसैले बादलहरुमा तापक्रमको मात्रासँगैको उतारचढावले चट्याङ पर्ने मौसमविद् प्रतिभा मानन्धर बताउनुहुन्छ ।
उहाँका अनुसार बादलभित्र हावाको वेग तलमाथि भइरहन्छ । तातो र चिसो हावाको लगातार आवागमनले बादलमा विद्युतीय शक्ति पैदा गर्छ । जुन चट्याङ बनेर धर्तीमा झर्छ ।
यसरी झर्ने विद्युतीय शक्ति जुन क्षेत्र वा वस्तुमा पर्छ । त्यो जलेर नष्ट हुन्छ । मानिसलाई लागेमा उसको ज्यान पनि जान सक्छ । त्यसैले सावधानी अपनाउनुपर्ने हुन्छ ।
चट्याङकै बारेमा एनिमेटेड भिडियो कुराकानी बनाएर पनि प्राधिकरणले यस सम्बन्धी शिक्षा दिइरहेको छ । जसमा ठूलो रुखमुनी नबस्ने, खुला ठाउँमा बस्नुपरेमा टुक्रुक्क बसेर कान थुन्नुपर्ने, सकेसम्म बाहिर रहँदा फलामका सामान नछुने, धारामा ननुहाउने, बिजुलीका समान बन्द लगायतका सुझाव दिइएको छ ।
प्रिमनसुन र मनसुनको समय अत्यधिक चट्याङ पर्ने समय मानिन्छ । वर्षेनी चट्याङका कारण करिब पचासदेखि एसकय जनाको ज्यान जाने गरेको छ ।