कार्यक्रमका विशेष अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले सम्मानित स्रष्टाहरुलाई बधाई दिनुहुँदै नेपाल र नेपाली पहिचानलाई विश्वसामु चिनाएको नेपालको सांस्कृतिक धरोहरलाई जोगाउन महत्वपूर्ण योगदान दिनुहुने स्रष्टा र कलाकारहरुको योगदानको चर्चा गर्नुभयो ।
पुरस्कार समर्पण समारोहका अध्यक्ष एवं कुलपति निशा शर्माले नेपाल बहुभाषी, बहुसांस्कृतिक, बहुधार्मिक, बहुजातीय मुलुक भएको उल्लेख गर्दै जसरी भौगलिक बनावटमा विविधता छ त्यसरी नै संस्कृतिमा पनि विविधता रहेको बताउनुभयो । विविधतामा एकता नेपाली समाजको विशेषता भन्ने तथ्यलाई आत्मसाथ गरी राष्ट्रिय एकता र अखण्डतालाई मजबुत बनाउनका लागि संस्कृतिको अहम भूमिका हुनेमा उहाँले जोड दिनु भयो ।
सो क्रममा प्रतिष्ठानका कुलपति निशा शर्माले प्रतिष्ठानको प्रेक्षालय निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीको चरणमा रहेको बताउँदै पर्यटनमन्त्रीसँग सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । उहाँले अहिलेसम्म ५४ जना स्रष्टाहरूलाई सम्मान गरिसकिएको जानकारी दिनुभयो।
कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै उपकुलपति शम्भु राईले हरेक वर्ष प्रदान गरिने नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारको राशी बढाउन नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले प्रयास गरिरहेको जानकारी गराउँदै यसका लागि नेपाल सरकारसँग अक्षयकोष खडा गर्न निरन्तर पहल गरिरहेको बताउनुभयो ।
समारोहमा सम्मानित हुनुहुने स्रष्टाको ताम्रपत्र पढेर सुनाइएको थियो । प्राज्ञ चेतन सापकोटाले रङ्गमञ्च विधाबाट सम्मानित हरिहर शर्मा, प्राज्ञ डक्टर किरातले शास्त्रीय सङ्गीत विधाबाट सम्मानित चन्दन कुमार श्रेष्ठ, प्राज्ञ टिका पुनले लोक सङ्गीत विधाबाट सम्मानित बोमबहादुर कार्कीलाई प्रदान गरिएको ताम्रपत्र वाचन गरेर सुनाउनु भएको थियो ।
त्यसैगरी प्राज्ञ बखत बहादुर हमालले नृत्य विधाबाट सम्मानी जोगेन्द्र केसी, प्राज्ञ कर्ण गौतमले सङ्गीत विधाबाट सम्मानित तारा थापा, प्राज्ञ हिसन मगरले नाटक विधाबाट सम्मानित गोपाल देवानलाई प्रदान गरिएको ताम्रपत्र पढेर सुनाउनु भयो ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी सदस्य सचिव कुश्मा महरा प्रगतिले सहजीकरण गर्नुभएको कार्यक्रममा तीन प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरु, नेपाली सङ्गीत, नृत्य तथा नाटक विधाका वरिष्ठ स्रष्टा, साधक तथा कलाकारहरु र विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । प्रतष्ठानकी सदस्य सचिव महराले स्रष्टा सम्मानलाई प्रतिष्ठानले निरन्तरता दिँदै आएको र यो क्रम जारी रहने जानकारी दिनुभयो।