काठमाडौँ, ७ असार : अग्रज गीतकार तथा सङ्गीतकारहरुले गीतसङ्गीत मानव जीवनकै अभिन्न अङ्ग भएकाले समाजलाई अगाडि बढाउने गरी सिर्जना गर्नुपर्नेमा जोड दिनुभएको छ ।
विश्व सङ्गीत दिवसका अवसरमा आज नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा काठमाडौँमा भएको ‘नेपाली समाज र सङ्गीत’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँहरुले अहिलेको अबस्थामा सङ्गीतलाई छुटाएर मानव जीवन पूर्ण हुन नसक्ने तर्क गर्नुभएको छ ।
सन् १९८१ जुन २१ मा फ्रान्सबाट सङ्गीत दिवस मनाउन थालिएको हो । यो दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
सांसद एवं लुम्बिनी प्रदेशका पूर्वसभामुख पूर्ण घर्तीले नाच, गान, बाजाका धुन प्रतिविम्बित ध्वनी र सुरको संयोजनबाट निर्मित अलग्गै भाषा नै सङ्गीत भएको र यो मानव जीवनका लागि महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले सङ्गीतलाई राज्यले संरक्षण गर्नुपर्नेमा जोड दिँदै सामाजिक चेतनालाई उन्नत बनाउन तथा भ्रम चिरेर समाज विकासमा योगदान दिने महत्वपूर्ण माध्याम गीत सङ्गीत भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भू राईले नेपालमा सङ्गीत अनियन्त्रित हुने क्रममा देखिएको भन्दै प्रतिष्ठानले प्रतिष्ठानले नियन्त्रित गर्नै प्रयास गरिरहेको उल्लेख गर्नुभयो ।
वरिष्ठ गीतकार विश्व वल्लभले सङ्गीतको महत्वलाई बचाइराख्न नियमित साधना जरुरी रहेको औँल्याउनुभयो । उहाँले आफ्नो कर्म नछाड्न यस क्षेत्रका व्यक्तिहरुलाई अनुरोध गर्नुभयो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले विद्यालयस्तरका पाठ्यक्रममै अनिवार्य शिक्षाका रुपमासङ्गीतलाई राख्नुपर्नेमा जोड दिँदै सङ्गीतलाई युग सुहाउँदो बनाउनुपर्ने बताउनुभयो ।
अर्का वरिष्ठ सङ्गीतकार चिरन पुनले सङ्गीत सिर्जना मनोरञ्जन मात्र नभई यो राजनीति, अर्थशास्त्र, समाज, संस्कृति सबै क्षेत्रमा जोडिने बताउनुभयो । उहाँले भन्नुभयो, “गीत सङ्गीत भनेको त जीवन हो नि तर अहिले गीत सङ्गीतमा विकृति बढ्यो, परिवारसँग बसेर हेर्न नसकिने गीतहरु छन्, भाइरलका नाममा एउटा मान्छे कुनै ठाउँबाट आएर भ्याइनभ्याइ भइरहेको छ, तर वर्षाैँदेखि साधना गरिरहेकाहरु कहाँ छन्?”
गीतकार सङ्घका अध्यक्ष वसन्त वित्यासी थापाले ठाउँ, परिभेष र शब्द अनुसार सङ्गीत प्रस्तुत गर्नुपर्ने बताउँदै भन्नुभयो, “माया प्रेमका मात्रै होइन समाज परिवर्तन गर्ने हो भने चेतना र रुपान्तरणकारी तथा ज्ञानका गीत पनि जरुरी देखिएको छ ।”
राष्ट्रिय जनसाँस्कृतिक महासंघका अध्यक्ष प्रेमनाथ अधिकारीले जुनसुकै समाज परिवर्तनमा गीत सङ्गीतको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै नेपाली सङ्गीतको घेरा भने सानो रहेको दावी गर्नुभयो । नृत्य निर्देशक संघका अध्यक्ष भुवन श्रेष्ठले सङ्गीत आफैँमा गहन विषय भएको बताउनुभयो । उहाँले सङ्गीत विश्व भाषा भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य एवं सङ्गीत विभाग प्रमुख कर्ण गौतमले सङ्गीत मानिसको अभिन्न अङ्ग भएको स्मरण गर्दै विरामी हुँदा उपचारका लागि, दुख विसाउनका लागि पनि सङ्गीतको प्रयोग भइरहेको बताउनुभयो ।
उहाँले अहिलेको समाजमा सङ्गीत नेतृत्वदायी साधन बनिरहेको जिकिर गर्नुभयो । समाजलाई सकारात्मक दिशामा अघि बढाउनका लागि कस्तो सङ्गीत जरुरी छ भनेर बहस जरुरी रहेको उहाँले बताउनुभयो ।
नेपाली गीतसङ्गीतमै विद्यावारिधी गर्नुभएकी डा आना स्टरले सङ्गीतलाई मनोरञ्जनका रुपमा मात्रै हेर्न नहुनेमा जोड दिँदै भन्नुभयो, “सङ्गीतमा शक्ति हुन्छ, यो संस्कृति, राजनीति, अर्थशास्त्र सबैसँग जोडिने बताउनुभयो ।
उहाँले आफ्नो अध्ययनका क्रममा नेपाली गीतसङ्गीका विषयमा लेख्दा साङ्गीतिक सिद्धान्त नभई शब्दमात्रै रहेको उल्लेख गर्दै त्यसका अन्तराहरुमा जाँदा नाच यस्तो हुन्छ भनेर देखाउन सके अन्य देशका मान्छेले पनि बुझ्ने र सिक्ने बताउनुभयो ।
प्रतिष्ठानका सदस्यसचिव कुष्मा महरा, प्रगतिले अन्तरक्रियामा महत्वपूर्ण सुझाव आएको र त्यसलाई व्यवहारमा लागू गर्न प्रतिष्ठानले प्रयास जारी राख्ने बताउनुभयो ।
कार्यक्रममा पूर्वप्राज्ञ माधव प्रधान, जनसाँस्कृतिक महासंघ नेपालका उपाध्यक्ष डम्बर रोकाया, प्रगतिशील गायक हेमराज आश्रम, गायक झंक बुढा मगर, गायिका निलिमा पुनलगायतले धारणा राख्नुभएको थियो ।