काठमाडौँ । कलामार्फत संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धनमा योगदान दिँदै आएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आउन लागेको धान दिवसका अवसर पारेर यही असार १५ गतेदेखि काठमाडौँमा किसान केन्द्रित चित्रकला प्रदर्शनी तथा जलरङ कला कार्यशाला आयोजना गरेको छ ।
अन्तरराष्ट्रिय जलरङ समाज नेपालसँगको सहकार्यमा यही असार १४ देखि २१ गतेसम्म हुने ‘किसान’ शीर्षकको जलरङ कला प्रदर्शनी तथा कला कार्यशालाको अन्तिम तयारी भइरहेको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले जानकारी दिनुभयो ।
उहाँले खुला प्रदर्शनी हुने भएकाले तोकिएको नियममा रहेर जो सुकैले किसान शीर्षकमा कला बुझाउन सक्ने र त्यसका लागि सार्वजनिक आह्वान समेत भइसकेको जानकारी दिनुभयो । उक्त प्रदर्शनीमा सातै प्रदेशबाट कलाकारले सहभागिता जनाउने भएका छन्।

नेपाल कृषि प्रधान देश र असार १५ धान दिवस समेत भएकाले त्यस अवसरमा कलामार्फत कृषि र किसानको महत्व बुझाउँदै कृषि क्षेत्रको सम्मानका लागि यसपटक जलरङबाट बनेका कला सिर्जनाहरु प्रदर्शन गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।
किसानप्रति समर्पित हुने भएकाले प्रदर्शनीमा सहभागिताका लागि चित्रकाको शीर्षक नै ‘किसान’ हुनुपर्ने प्रतिष्ठानले जनाएको छ । चित्र सिर्जना गर्दा रियालिस्टिक मिनीयालिस्टिक वा समसामयिक विषयको हुनुपर्ने छ ।
प्रदर्शनीमा १५ वर्षभन्दा माथिका कलाकार सहभागी हुन सक्ने, चित्रकलाको माध्यम जलरङ हुने भएकाले अन्य माध्यममा बनाइएका चित्रकलालाई प्रदर्शनीमा समावेश नगराइने भएको छ ।
चित्रकलाको साइज १५÷२२ इन्चको हुनुपर्ने, तोकिएको साइजभन्दा ठूलो साइजलाई प्रदर्शनीमा समावेश नगराइने तथा फ्रेमरहित चित्र पठाउनुपर्ने सूचनामा जनाइएको छ । प्रदर्शनीमा सहभागी हुन कुनै शुल्क भने लाग्ने छैन ।
अन्तरराष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनबी गुरुङले कला प्रदर्शनीमा आजसम्म ७० भन्दा बढी सिर्जनाहरु प्राप्त भइसकेको जानकारी दिनुभयो ।
अहिले क्याटलकको काम शुरु गरिएको जानकारी दिँदै उहाँले सातै प्रदेशमबाट प्रतिनिधित्व हुने गरी तयारी भइरहेको बताउनुभयो । यसपटक उक्त अवसरमा कला प्रदर्शनीका साथै ३० जना कलाकारको सहभागितामा जलरङ कला कार्यशाला पनि आयोजना गर्न लागिएको उहाँले जानकारी दिनुभयो । प्रतिष्ठानले हालै जेठ १५ देखि ३२ गतेसम्म राष्ट्रिय कला प्रदर्शनीसमेत गरिसकेको छ ।