काठमाडौँ : दाहसंस्कारको ओछ्यान (चिता)मा जलाउने तयारीमा राखिएको लास । छेवैमा अगरबत्तीको मन्त वासना, नजिकै रातो कपडामा गरगहना, पुरस्कार, धन, सम्पत्ति, महत्वपूर्ण कागजात र हवाई टिकट छ । वरिपरि खादा र ध्वजापतका । केहीपर चितामा चाहिने काठका मुढा । मृत शरीरभरी ट्याटु । घोटिएका पैताला, घाँटी र कम्मरमा चोट ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको एउटा कुनामा रहेको कलाकार टासी सालका शेर्पाको ‘मरी लानु के छ र’ शीर्षकमा बनाइएको प्रतिस्थापन कलाले वास्तविक घटनाको अनूभूति दिलाउँछ । यहाँ जीवनको यथार्थलाई प्रत्यक्ष रुपमा देखाएको छ ।
एउटा मानिस बाचुञ्जेल धनसम्पत्ति कमाउनका लागि इष्र्या, घमण्ड, लोभ, लालचमा समाहित हुन्छ तर उहाँका सिर्जनाले जीवन जस्तो जन्मियो त्यस्तै जाने हो, लोभ, मोह व्यर्थ हो भन्ने सन्देश दिन खेजिएको छ ।
“त्यो मानिस भित्रको दुखि आत्मालाई हटाउनका लागि मदत मिल्छ की भनेर प्रयास गरेको हुँ”, कलाकार शेर्पा भन्नुहुन्छ, “बाँचुञ्जेल लोभलालच नगरौँ, एक अर्कालाई समान र माया गरौँ भन्न खोजिएको हो ।”
उहाँका अनुसार यो कलाले जीवनको सादगी र अनन्ततालाई जोड दिन्छ । दाहसंस्कारको ओछ्यानमा आराम गरेको चित्र –शव)मा ट्याटु र घाउको दागले भरिएको छ ।
ठोस स्थायी सम्पत्तिको प्रतीक छेवैमा छ । मान्छेले बडो जतनका साथ भौतिक सम्पत्ति (गहना, पैसा, पुरस्कार र कागजात) जोडेर राखेको हुन्छ । उहाँले त्यो सम्पत्ति क्षणिक हो भनेर मार्मिक प्रतीक प्रस्तुत गरेका छन् ।
यहाँ कला हेर्न पुगेका कतिपय डराउँछन् । कतिपय वास्तविक शव ठानेर टाढै बस्छन् । कोही आउँदै आउँदैनन्, कोही नजिक पुगेर पनि तर्किन्छन् । वास्तविकता चाल पाएपछि बल्ल खुल्दुली मेटाउन खोज्छन् ।
कलाकार शेर्पा आफैँ ट्याटु आर्टिष्ट भएकाले सिलिकन रबरबाट बनेको शवमा ट्याटु खोप्नुभयो । नेपालका नेवार र थारु समुदायले ट्याटु प्रयोग गर्छन् । मरेर स्वर्ग जाँदा लैजान पाइने त्यही ट्याटु हो भन्ने गरिन्छ । त्यसैले ट्याटु खोपेर इतिहास सम्झाउन खोजेको उहाँले सुनाउनुभयो ।
युवाहरुको विभिन्न कारणले अकालमा मृत्यु हुने गरेको छ । त्यसलाई प्रतिविम्बित गर्न घाँटी र कम्मरमा घाउचोट देखाएर उहाँले मानिसको जतिबेला पनि मृत्यु हुन सक्छ, लोभ मोह, इष्र्या क्षणि हुन्, त्यसलाई त्यागौँ भन्ने सन्देश दिनुभएको छ ।
रातो कपडामा राखेको हवाई टिकटको पनि अर्थ छ । नेपालीहरु वैदेशिक रोजगारमा धेरै गइरहेका छन् । कतिपय बाकसमा फर्किएका दुखद घटना छ । शेर्पा भन्नुहुन्छ, “ती व्यक्ति जिन्दगीलाई कुर्वानी गरेर गएका हुन्छन्, परिवारका लागि र धन, सम्पतिका लागि तर के उ खुसी छ त? जसको लागि गरिरहेको हो उनीहरुबाट प्रसंसा पाइरहेका छन् त? भनेर देखाउन खोजेको हो।”
यस कलाले मानिसलाई अस्थायी उपलब्धिभन्दा अर्थपूर्ण अनुभव र सम्बन्धलाई प्राथमिकता दिन प्रोत्साहित गर्छ । जीवनप्रति नम्र र दयालु दृष्टिकोणलाई बढावा दिन्छ । कलाकृतिलाई चिन्तन गर्ने दर्शकलाई शीर्षकले गहिरो प्रश्नमा घोत्लिन आमन्त्रण गरिरहेको छ ।
जीवनको अस्थिरता र अमूर्त विरासतका लागि विचार निर्माणमा उनको सिर्जना सफल भएको छ । यो कलाले यसपालिको जारी राष्ट्रिय ललितकला प्रदर्शनी २०८१ मा राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ ।