काठमाडौँ । ललितपुरको बुङ्मतीका सुरेश लवट तुलाधरले परम्परागत मूर्तिकला साधनामा २० वर्ष खर्चिसक्नुभएको छ । उहाँले जाने अनुसार परम्परागत कला सिर्जनाको उहाँ चौथो पुस्ता हुनुहुन्छ ।
पुस्तान्तरण हुँदै आएको कलाको बिँडो अब उहाँपछिको पुस्ताले धान्ला या नधान्ला दोधारमा रहनुभएका तुलाधर आफ्नो जीवनलाई भने यही कलामा समर्पण गर्नुभएको छ ।
कलायात्राको २० वर्षे अनुभवमा उहाँले यसपाली एउटा नसोचेको उपहार प्राप्त गर्नुभयो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय ललितकला प्रदर्शनी २०८१ मा राखिएका ४८२ कलाकारका ५२२ कलाकृतिमा उहाँले सिर्जना गरेको ‘२१ तारा’ले सर्वाेत्कृष्ट हुँदै एक लाख पुरस्कार प्राप्त गरेको छ ।
उहाँ एक प्रकारले दङ्ग पनि पर्नुभएको छ भने २० वर्षको मेहनतको उपलब्धिका रुपमा पनि सम्झनुभएको छ ।
प्रदर्शनीमा परम्परागत, आधुनिक, धर्म, संस्कृति, इतिहास, दैनिक जनजविनका साथै विभिन्न दृष्य चित्रहरु राखिएका छन् । त्यसमध्ये उहाँको सिर्जना परम्परागत काष्ठमूर्तिकला ‘२१ तारा’ हो । त्यसमा नियमबद्ध र परम्परागत बुट्टाले कलालाई थप आकर्षक बनाइदिएको छ । हेर्दै सुन्दर र आकर्षक देखिने उक्त कला यहाँको प्रदर्शनीमा आएका कला पारखीको आँखामै पर्ने गरेको छ ।
परम्परागत कला सिर्जना गर्न सजिलो छैन, नियममा रहेर बनाउनुपर्ने भएकाले पनि कठिन हुन्छ । त्यसमाथि कलामा निखारता चाहिन्छ । उहाँले यसपाली सिर्जना गर्नुभएको परम्परागत काष्ठकला नियममा बाँधिएर गर्नुपर्छ । त्यसमाथि २१ तारा बनाउन झन् कठिन हुन्छ । हरेक ताराको आआफ्नो ठाउँ हुन्छ । पञ्चबुद्धको नियम र भूमिका हुने झैँ २१ ताराकै फरकफक स्थान र भूमिका हुन्छ ।
यहाँको सिर्जनाको पाँच वटा ताराको प्रतिनिधित्व पञ्बुद्धले गरेको छ । हरेकले के भन्न खोजेको हो त्यसमा रहेको चिह्न, सङ्केत र वस्तुले प्रस्तुत गर्छ । कलाकार तुलाधरले सिर्जनाको माथिल्लो भागमा पाँचवटा तारा अर्थात पञ्चबुद्ध राख्नुभएको छ । ध्यानी बुद्धलाई नै पञ्चबुद्ध भन्ने गरिएको छ । वैरोचन, अक्षोभ्य, रत्नसंभव, अमिताभ र अमोघसिद्धिको सामुहिक नाम नै पञ्चबुद्ध हो । तल अष्टमंगल रहेको छ ।
लेखक वसन्त महर्जनले काठमाडौँको बौद्ध समाजमा घरको मुख्य प्रवेशद्वारमाथि लहरै पञ्चबुद्धको चित्र अंकित गर्ने चलन रहेको उल्लेख गर्नुभएको छ । पञ्चबुद्धको नामक्रममा वैरोचन बुद्धलाई पाँच बुद्धको मध्यभागमा राख्ने गरिन्छ ।
बीचमा ठूलो काष्ठकला (ग्रीन तारा) कुँदिएको छ । त्यसको उत्पलामा विश्वबज्र छ । यसले शक्तिको प्रतिनिधित्व गर्छ । सबैभन्दा अगाडि मञ्जुश्री राखिएको छ । कलाकार तुलाधार भन्नुहुन्छ, “त्यसरी राख्नुको कारण मञ्जुश्री सबैको गुरु हो । त्यसैले कसैले नाघ्नु भएन भनेर अगाडि राखिएको हो ।”
२१ वटै तारालाई पहिचान दिने चिह्नहरु छन्। जसले आआफ्नो महत्व दर्शाइदिन्छ । पञ्चबुद्धको मुनी धर्मरक्षकका रुपमा गरुड, बेटाल, सिंह, मकर विभिन्न स्वरुपमा कुँदिएको छ । उहाँको सिर्जनामा नाग कन्या पनि समावेश छ ।
बौद्ध धर्म अनुसार मनको इच्छा पुरा गर्ने ताराका रुपमा २१ तारालाई लिइन्छ । चाँपको काठबाट बनाइएको परम्परागत काष्ठकलामा रहेको एउटा÷एउटा ताराको छुट्टै महत्व र व्याख्या छ ।
कलाकार तुलाधरले २० वटा तारा एउटै काठबाट बनाउनुभएको हो । एउटा काठमा कला भर्न सजिलो छैन । त्यसमाथि मसिना बुट्टाका साथै नियममा बाँधिएर कला बनाउनु झन् गाह्रो कुरा हो । एउटा आधार र एउटा तारा छुट्टै काठबाट बताइएको छ ।
उहाँले काष्ठकला धेरै बनाउनुभयो तर यो अवधारणामा भने पहिलो बनाएको सुनाउनुभयो । “ठूलो र विस्तृतमा बनाइएको यो मेरो पहिलो हो र यसैले सर्वाेत्कृष्ट पुरस्कार पाउँदा खुसी भएँ,” उहाँले भन्नुभयो ।
साधनमालाअन्तरगत प्रतिमा लक्षण सिद्धान्तमा आधारित रहेर बनाइएको परम्परागत मूर्तिकलामा नियम मिच्न पाईँदैन । कलाकार तुलाधरले भन्नुभयो, “यो कला नियममा रहेर नै बनाउनुपर्छ, कतै छुट भयो भने कलाको महत्व नै हुन्न, त्यसैले जसले पनि परम्परागत कला बनाउन गाह्रो हुन्छ । शास्त्रहरु जानेकै हुनुपर्छ, कला साधकले नियम बुझेकै हुनुपर्छ ।”
उहाँले २१ तारा बनाउन नौ महिना खर्चनुभएको छ । यो परम्परागत काष्ठ मूर्तिकला एक वर्ष घरमा बस्यो । प्रदर्शनीमा लैजाने सोच थिएन तर प्रतिष्ठानबाट प्रदर्शनीका लागि अनुरोध भएपछि मात्रै उहाँले गएको माघमा कला पठाउनुभएको थियो ।
प्रदर्शनीका क्युरेटर प्रदीप शाक्य धेरै कलाकारलाई प्रदर्शनीमा सहभागिताका लागि अनुरोध गरिएको र उहाँलाई पनि त्यही सिलशिलामा अनुरोध गरिएको सुनाउनुभयो । अन्ततः उहाँकै कलाले सर्वाेत्कृष्ट पुरस्कार प्राप्त गर्यो ।
प्रादेशीक ललितकला प्रदर्शनीमा बागमतीको प्रतिनिधित्व गर्दै प्रदर्शन भएको उक्त कला राष्ट्रिय प्रदर्शनीमा पनि सहभागी भयो र ११ जना निर्णायकबाट अंकका आधारमा तुलाधरको सिर्जना सर्वाेत्कृष्ट बनेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले बताएको छ ।
प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केली भन्नुहुन्छ, “लोककला आफ्नो तरिकाले बनाउन सकिने भए पनि परम्परागत कलामा जे गर भनिएको छ त्यही गर्नुपर्छ टाउको अर्काेपट्टी फर्किएको छ भने त्यतै फर्काइएको हुनुपर्छ । अन्य कलामा बरु फकररुपमा प्रस्तुत गर्न सकिएला, परम्परागत कलामा त्यो छुट कलाकारलाई हुन्न, तुलाधरको सिर्जनामा पनि त्यही नियम लागू छ ।”
यसअघि प्रतिष्ठानबाट राष्ट्रिय ललितकला पुरस्कार र विशेष ललितकला पुरस्कार प्राप्त गर्नुभएका तुलाधरले यसपालीबाटै स्थापना भएको सर्वाेच्कृष्ट पुरस्कार हाता पार्नुभयो ।
उहाँले २० वर्षको अनुभवले यो कला तयार भएको सुनाउनुभयो । अहिले कलाको बजार घटेको अनुभव गर्ने तुलाधर उत्कृष्ट सिर्जना गर्ने हो भने कलाको बजारमा अझै समस्या नभएको बताउनुहुन्छ । विदेशमा जस्तो महत्व नेपालमा कम रहेको उहाँ बताउनुहुन्छ ।
“मध्यम वर्गीय र तल्लो वर्गीय कलाकारलाई सिर्जना गरेरै दैनिकी धान्न गाह्रै छ । माथिल्लो तह जसले कामको गुणस्तर दिनसक्छ भने उसको राम्रो छ”, उहाँले कला र जनजीविकाका बारे भन्नुभयो ।
खासमा २१ तारा कला धेरै महँगो हुने भएकाले सम्पन्न जीवन जिउनेहरुले आफ्नो घरमा सजाएर राख्ने गर्छन् । गुम्बाहरुमा गुरुले आफ्नो कोठामा अभ्यासका लागि राख्ने गरिएको उहाँले बताउनुभयो ।
उहाँले यसको मूल्य नतोके पनि १० लाख पर्ने बताउनुभएको छ । तर उहाँले यो कला विदेश पठाउने तयारी गर्नुभएको छ ।
तुलाधरलाई यसरी परम्परागत काष्ठमूर्तिकला कतिले गर्छन् भनेर खासै थाहा छैन । आफ्नो कुरा गर्दा उहाँ बुबाबाटै सीप सिकेको भए पनि स्वर्गीय लक्ष्मण महर्जनको कामको रस समाएको सुनाउनुहुन्छ । भन्नुहुन्छ, “मैले लक्ष्मण महर्जनकै रस लिएको हो, उहाँ जत्तिको काष्ठकलामा कोही छैन जस्तो लाग्छ ।