काठमाडौँ । फेरि गर्मी बढ्न लागेको छ । जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले सर्तता अपनाउन अनुरोध गरेको छ।
विभागको मौसम पूर्वानुमान माहशाखाले गर्मी बढ्ने भएकाले आवश्यक तयारी तथा सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । मौसमविद् विनु महर्जनले मुख्यगरी तराइका साथै सुदुरपश्चिम र लुम्बिनी प्रदेशमा गर्मी बढ्ने अनुमान गरिएको जानकारी दिनुभयो ।
विभागले भनेको छ, ‘तराइका भू–भागहरूमा जेठ २८ गतेसम्म तातो हावा (ज्यत ध्ष्लम) तथा तातो लहर (ज्भबत धबखभ) को सम्भावना रहेको हुनाले त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’
यसअघि नेपालगञ्जमा यो वर्षकै सबैभन्दा बढी ४४.२ डिग्री तापक्रम मापन भएको थियो । त्यस्तै धनगढीमा ४४.१ डिग्री मापन भएको थियो ।
प्राप्त सूचना अनुसार तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरूमा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्न अनुरोध गरिएको हो ।
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी नहिँड्ने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत अनुरोध गरिएको छ ।
विभागका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको ।
आज कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ ।
आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
लुम्बिनी, कर्णाली र सदूररपश्चिम प्रदेशका थोरै स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको जनाइएको छ ।