काठमाडौँ : अघिल्लाे सरकारका पालामा नियुक्त भएका ११ देशका राजदूतलाई फिर्ता बोलाउने सरकारले निर्णय गरेको छ।
बिहीवारको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका बेलायतलगायत देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो। सत्ता गठबन्धनभन्दा बाहिरका दलको कोटामा राजदूत बनेकाहरुलाई फिर्ता बोलाइएको छ।
भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, स्पेन, मलेसिया, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा लगानी सहजीकरणसम्बन्धी नेपाल ऐनलाई केही संशोधन गर्न बनेको विधेयकलाई सङ्घीय संसद्मा पेस गर्न स्वीकृत दिने निर्णय गरेको बताइन्।
त्यस्तै हेटौँडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारीलाई नियुक्ति दिने र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा पदम ओलीलाई नियुक्ति गर्ने पनि बैठकमा निर्णय भएको उनले बताइन्।
यस्तै मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णयसमेत पनि बैठकले गरेको छ।
बैठकले जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा ९१० बमोजिमका ५२ रोगहरुलाई सङ्क्रामक रोगहरुका रुपमा तोक्ने, जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८१ स्कीकृत गर्ने र ज्येष्ठ नागरिकसम्बन्धी ९पहिलो संशोधन० नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय गरेको पनि प्रवक्ता शर्माले जानकारी दिइन्।
सहरी विकास मन्त्रालयअन्तर्गत अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक तेजबहादुर राईलाई तोक्ने निर्णय बैठकले गरेको छ।