काठमाडौँ । सरकारको विपद् कोषमा रु ६ अर्ब ७८ करोड ३६ लाख मौज्दात रहेकाले विपदका बेलामा आवश्यक पर्ने खर्च व्यवस्थापनका लागि समस्या नहुने जनाइएको छ।
राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कुल मौज्दातमध्ये प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा मात्रै एक अर्ब रुपैयाँ रहेको छ।
यस्तै केन्द्रीय विपद व्यवस्थापन कोषमा रु १ अर्ब ६७ करोड तथा प्रदेश विपद व्यवस्थापन कोषमा रु ८४ करोड ७७ लाख मौज्दात रहेको प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार कोशी प्रदेशमा रु ६ करोड १९ लाख, मधेश प्रदेशमा रु ११ करोड ८३ लाख, बागमती प्रदेशमा रु १४ करोड ५४ लाख, गण्डकी प्रदेशमा रु ३० करोड ७३ लाख, लुम्बिनी प्रदेशमा रु ६ करोड ५६ लाख, कर्णाली प्रदेशमा रु ६ करोड ८२ लाख र सुदुरपश्चिम प्रदेशमा रु १४ करोड ९२ लाख मौज्दात रहेको प्राधिकरणले आज सार्वजनिक गरेको हो ।
उहाँका अनुसार जिल्ला विपद व्यवस्थापन कोष (७७ वटै जिल्ला) मा रु १ अर्ब २५ करोड ५९ लाख र स्थानीय विपद व्यवस्थापन समितिमा रु २ अर्ब १ करोड मौज्दात रहेको पनि उहाँले जानकारी दिनुभएको छ ।
कोषमा भएको यो रकम जुनसुकै बेला विपद व्यवस्थापनमा परिचालन गर्न सकिने प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो ।
उहाँले यसपाली मनसुनजन्य प्रकोप बढी हुनसक्ने अनुमान रहेकाले सोही अनुसारको प्रतिकार्य राष्ट्रिय कार्ययोजना बनाएर कार्यान्वयनमा लगिएको जानकारी दिनुभयो ।