काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापनमा कुनै पनि कारण देखाएर ढिला सुस्ती भयो भन्ने छुट कसैलाई नभएको बताउनुभएको छ ।
राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणमा आज भएको विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री लामिछानेले नियम, कानुन, कार्यविधि, काम गर्नका लागि भएकाले त्यसलाई देखाए रकाम रोक्न नहुनेमा जोड दिनुभयो ।
उहाँले त्यस्ता कानुन, कार्यविधिले कहीँ कतै अड्काइएको छ भने जानकारी दिन अनुरोध गर्दै मन्त्रालयले त्यो गाउँठो फुकाउने प्रतिबद्धता जनाउनुभयो । तर त्यसैलाई देखाएर कुनै पनि ढिलासुस्ती गर्न नहुनेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “आपत परेको छ, हामीलाई त यो प्रक्रियाले दिँदैन भन्ने नहोस्, अड्किएका ठाउँ कहीँ छ भने ल्याउनुहोस् कहिले सुधार्नुपर्ने हो? आकस्मिक छ भने त्यसैगरी काम गरौँ, लामो प्रक्रिया कुरिरहनुपर्दैन ।”
उहाँले विपदमा नागरिकको ज्यान जोगाउने जस्तो महत्वपूर्ण कुरा अरु केही हुनै नसक्ने बताउँदै आउन लागेको मनसुनका समयमा त्यसतर्फ ध्यान दिन सबैसँग अनुरोध गर्नुभयो ।
“हामीले बनाएका नीति, नियम कार्यविधलिे श्रोत साधन परिचालन गर्न नै रोक्छ भने ती कागजहरुको केही अर्थ छैन, महिनौँदेखि हामीले गर्नुको तयारीको केही अर्थ छैन, के अर्थ यी बैठक नीति नियम र कागजका ठेलीको”, उहाँले भन्नुभयो । त्यसैले त्यस्ता नियमलाई अर्थपूर्ण बनाउने जिम्मेवारी पनि हामीहरुकै भएको बताउनुभयो ।
सो क्रममा गृहमन्त्री लामिछानेले जेठ महिनाभित्रै गर्नुपर्ने तयारी गर्न मातहतका सबै निकायलाई निर्देशन दिनुभयो । उहाँले जिल्ला विपद् व्यवस्थापन समितिको प्रतिकार्य तयारी बैठक यही हप्तामा सक्न पनि निदेशन दिनुभएको छ । कमाण्ड सेन्टर बनाइएकाले अब त्यसले नै सबै काम गर्ने जानकारी दिँदै उहाँले त्यसलाई मन्त्रालयले आवश्यक समन्वय र सहयोग गर्ने पनि बताउनुभयो ।
विपदका बेला पत्रकार तथा स्वयंसेवकका लागि पनि जोखिम हुने भएकाले विपद् क्षेत्रमा जाँदा आवश्यक तालिम दिन जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो ।
बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले मन्त्रालयबाट गर्नुपर्ने आवश्यक काममा कुनै कमि हुन नदिने प्रतिबद्धता जनाउनुभयो । उहाँले स्थानीय तहले पाउने बजेट रोकिँदा उनीहरु आन्दोलित भएको जानकारी गराउँदै त्यसतर्फ पनि ध्यानाकर्षण गराउनुभयो ।
मन्त्री जोशीले मन्त्रालयले गर्नुपर्ने भूमकिा, परिपत्र, भेला, गोष्ठी तत्काल गर्ने उल्लेख गर्दै आज तयार भएको प्रतिकार्य योजना अनुसार सबै निकायले आआफ्नो जिम्मेवारी लिएर आवश्यक तयारीमा जुट्न आग्रह गर्नुभयो ।
बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले गृह मन्त्रालयसँगको समन्वयमा यथासक्य चाँडो बैठक बसेर स्वास्थ्यबारे आवश्यक तयारी गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले विपदका समयमा खाने कुरा, आवास, स्वास्थ्य उपचालगायत समस्या हुने गरेको भन्दै अरु निकायभन्दा अघि सरकार पुग्नुपर्नेमा जोड दिनुभयो ।
गृहमन्त्री अध्यक्ष रहेको उक्त कार्यकारी बैठकले आजै संसोधनसहित मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१ स्वीकृत भएको छ ।