काठमाडौँ : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले तल्लो युनिटका प्रहरी कर्मचारीको अवस्था अध्ययन गर्न थाल्नुभएको छ । शुक्रबार राति उहाँले काठमाडौँका ३ वटा प्रहरी वृत्त (बौद्ध, गौशला र महाराजगञ्ज) को अनुगमन गर्नुभएको छ ।
अनुगमनका क्रममा उहाँले प्रहरी कार्यालयहरुको कार्य प्रणाली, जनशक्ति, कागजपत्रको व्यवस्थापन, प्रविधिको प्रयोग र समस्या आदिबारे वृत्त प्रमुखसँग जानकारी लिनु भएकोको छ ।
गृहमन्त्री लामिछानेले उजुरी÷जाहेरीका प्रकृति र दैनिक आउने संख्या, अनुसन्धानका कठिनाइ, वृत्तमार्फत जाने मुद्दा तथा थुनुवा कक्षको क्षमता र हाल रहेको संख्याबारे पनि जानकारी लिनुभयो ।
सो क्रममा उहाँले नागरिकको गुनासो तत्काल सुन्न, पीडितमैत्री व्यवहार गर्न र जिम्मेवारी निर्वाहमा गम्भीर हुन तीन वटै वृत्तका प्रमुखलाई निर्देशन दिनुभयो । नयाँ बसपार्क क्षेत्रको विशेष सुरक्षा योजना ५ दिनभित्र पेश गर्न महाराजगञ्ज वृत्त प्रमुखलाई आग्रह गर्नुभएको छ ।
प्रहरीका कामलाई थप प्रभावकारी बनाउन गर्नुपर्ने सुधारको सुझाव दिन आग्रह गर्दै प्रहरी संगठनलाई अझ नागरिकमैत्री, व्यवसायिक, स्रोत–साधनयुक्त र चुस्त–दुरुस्त बनाउन गर्नुपर्ने कामको योजना बनाउनका लागि सुझाव लिन उहाँले तल्लो तहका प्रहरी युनिटको अनुगमन थाल्नु भएको हो । यो क्रम जारी रहने जनाइएको छ ।