काठमाडौँ। नेपाल प्रहरी अस्पताल महाराजगञ्ज र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा उपेन्द्र देवकोटा फाउन्डेसन बाँसबारीबीच आज न्यूरो सेवा आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा फाउन्डेसनका कार्यकारी अध्यक्ष प्राडा मधु दीक्षित देवकोटाको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयमा आज बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
नेपाल प्रहरी अस्पतालका तर्फबाट अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा फाउन्डेसनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मिलन गुरूङले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।
सो क्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले यो समझदारीले आगामी दिनमा दुवै निकायको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।
समझदारीबाट वहालवाला, अवकाश प्राप्त प्रहरी कर्मचारी र तिनका परिवारलाई न्यूरोसम्बन्धी उपचारमा थप सहजता हुने उल्लेख गर्दै यसलाई कागजको दस्तावेज मात्र नभई उपलब्धिमूलक कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा फाउन्डेसनका कार्यकारी अध्यक्ष प्राडा मधु दीक्षित देवकोटाले फाउन्डेसनलाई समझदारी योग्य सम्झेकामा नेपाल प्रहरीलाई धन्यवाद दिँदै यसबाट गुणस्तरीय सेवा, शिक्षा र रिसर्चमा सहयोग पुग्ने बताउनुभयो ।
उक्त सम्झौता अनुसार अस्पतालको सेवा सुविधअन्तर्गत विशेषज्ञ सेवाहरू आदानप्रदान गर्ने, आवश्यकताका आधारमा तालिम तथा सेमिनारमा सहभागी गराइने, बहालवाला प्रहरी कर्मचारी र तिनका आश्रित परिवार तथा पूर्वप्रहरी कर्मचारी र तिनका आश्रित परिवारलाई ओपिडी, बेड भर्ना, अप्रेसनलगायतमा हाल लिइरहेको दरमा ७५ प्रतिशत शुल्क तथा नेपाल प्रहरी अस्पतालबाट रिफर हुने अन्य जो कोहीलाई ती सेवामा ९० प्रतिशत शुल्क मात्र न्यूरो अस्पतालले लिने उल्लेख गरिएको छ ।
साथै नेपाल प्रहरी अस्पतालबाट रिफर हुने बहालवाला प्रहरी कर्मचारी र तिनका आश्रित परिवार तथा पूर्व प्रहरी कर्मचारी र तिनका आश्रित परिवारको नेपाल प्रहरी अस्पतालबाट उपलब्ध रिपोर्टहरू न्यूरो अस्पतालले स्वीकारी उपचार गर्ने लगायतका सुविधा उपलब्ध हुनेछन् । सम्झौता पाँच वर्षका लागि गरिएको हो ।