काठमाडौँ । ललितकलाको उत्सव मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ आजदेखि सुरु भएको छ । प्रदर्शनीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा प्रतिष्ठानका संरक्षक हितबहादुर तामाङले उद्घाटन गर्नुभयो ।
उहाँले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ललिलकलाको संरक्षण, संवद्र्धन र प्रवर्धन गर्न मुलुकमै पहिलो पटक प्रादेशिक ललितकला प्रदर्शनी गरी त्यस प्रदर्शनीबाट छनोट भएका उत्कृष्ट कलाकृति राष्ट्रिय ललितकला प्रदर्शनीमा राखेर एउटै छानामुनि विविध कलाको अवलोकन गर्ने अवसर मिल्नु खुशीको कुरा भएको बताउनुभयो ।
प्रतिष्ठानले ललितकलाकर्मीलाई प्रोत्साहन र प्रवर्धन गर्न विशेष कार्यहरू गरेको उल्लेख गर्दै मन्त्री तामाङले भन्नुभयो, “यस कार्यक्रमलाई प्रतिष्ठानले आगामी दिनमा अझ परिष्कृत गरी भव्यताका साथ गर्ने छ भन्ने विश्वास लिएको छु ।”
उहाँ ललितकलाले मुलुकको पहिचान विश्वमाझ पुर्याउन योगदान दिने र पर्यटन विकासमा टेवा पुर्याउने भएकाले कला सिर्जना समृद्धिका लागि महत्वपूर्ण क्षेत्र रहेको बताउनुभयो । उहाँले मन्त्रालयले मुलुकको पहिचान कला सिर्जनाको विकासमा विशेष ध्यान दिने पनि बताउनुभयो । उहाँले आज प्रदर्शनीका क्रममा पुरस्कृति हुने सबै कलाकारहरुलाई सिर्जनामा सक्रिय हुन अनुरोध गर्दै बधाई ज्ञापन गर्नुभयो ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाली ललितकलालाई स्थानीय तह, प्रदेश र केन्द्र हुँदै अन्तर्राष्ट्रियस्तरसम्म फैलाउनका लागि प्रतिष्ठानले काम गरिरहेको बताउनुभयो । उहाँले यसबाट कला सिर्जनमा परिणाम देखिएता पनि गुणात्मक रूपमा अझै परिष्कृत हुन बाँकी रहेको धारणा राख्नुभयो ।
प्रतिष्ठानका उपकुलपति एवं ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ कार्यकारी समितिका संयोजक लालकाजी लामाले प्रतिष्ठानको स्थापना कालदेखि नै हुँदै आएको यस ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ को विशेष महत्व रहेको बताउनुभयो ।
सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले नेपाली कलाको महाउत्सवका रूपमा लिइने यस प्रदर्शनी नेपाली ललितकलाको क्षेत्रलाई स्थानीय तहदेखि केन्द्रसम्मको गन्तव्यमा लैजान सफल भएको बताउनुभयो ।
प्रतिष्ठानले ‘सामाजिक रूपान्तरण ः ललितकलाको अभियान’ भन्ने मूल भावमा रहेर सम्पन्न गरेको ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८०’ मार्फत छानिएका कलाकृति समावेश गरेर यस वर्ष ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ गरेको हो ।‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा ४८२ कलाकारका ५२२ कलाकृति प्रदर्शनीमा राखिएको छ ।
सम्मान तथा पुरस्कार प्रदान
यस वर्ष अरनिको ललितकला राष्ट्रिय प्रज्ञासम्मान प्राज्ञ किरण मानन्धर (पूर्व कुलपति) र श्यामवदन श्रेष्ठ (वरिष्ठ हस्तकलाकार) लाई प्रदान गरिएको छ । यस पुरस्कारको राशि १ लाख ५० हजार र सम्मानपत्र रहेको छ ।
सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार सुरेश लवट तुलाधरलाई प्रदान गरिएको र यस पुरस्कारको राशि १ लाख र सम्मानपत्र रहेको छ ।
कुल रु ६० हजार राशिको राष्ट्रिय ललितकला पुरस्कार समसामयिक चित्रकलातर्फ कृष्ण लामा, समसामयिक मूर्तिकलातर्फ श्रवणकुमार महर्जन, परम्परागत चित्रकलातर्फ महेश्वर डङ्गोल, परम्परागत मूर्तिकलातर्फ सुमन शाक्य, हस्तकलातर्फ विनोदकुमार बज्राचार्य, लोककलातर्फ विजयकुमार दत्त कायस्त, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कलाअन्तर्गत प्रतिस्थापन कलातर्फ टासी सलाका र फोटोग्राफीतर्फ रामगोपाल वैद्यलाई प्रदान गरिएको छ ।
ललितकला लेखन पुरस्कार प्राज्ञ ज्ञानेन्द्र विवश, ललितकला पत्रकारिता पुरस्कार क्रमशः गोरखापत्र दैनिक र द राइजिङ नेपालका सुकृत नेपाल र रेनुका ढकाललाई प्रदान गरिएको छ ललितकला लेखन पुरस्कारको राशि ६० हजार र ललितकला पत्रकारिता पुरस्कारको राशि ३०÷३० हजार रहेको छ । कला प्रवद्र्धन सम्मान भने नेपाल व्यावसायिक कलाकार सङ्घलाई प्रदान गरिएको छ । यस्तै आजै विविध विधामा प्रदेशिक पुरस्कार पनि वितरण गरिएको छ ।
यस वर्षदेखि सुरु गरिएको ‘सहिद कलाकार अनिल लामा स्मृति पुरस्कार २०८०’ लक्ष्मण भुजेल र ‘सहिद कलाकार बाबुराम लामा स्मृति पुरस्कार २०८०’ प्राज्ञ भुवन थापालाई प्रदान गरिएको र उक्त पुरस्कारको राशी ५०÷५० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ जेठ ३० गतेसम्म चल्ने छ । प्रदर्शनीको प्रवर्धकका रूपमा नेपाल पर्यटन बोर्ड रहेको छ ।